काठमाडौं। अर्जेन्टिनी स्टार लिओनल मेसीले सोमबार टोरन्टो एफसीविरुद्धको खेलमा गोल गरेका छन्।
यो सिजनको मेजर लिग सकर (एमएलएस) मा उनको यो चार खेलमा तेस्रो गोल हो। उनको यो गोलको मद्दतले इन्टर मियामीले १–१ को बराबरी खेल्न सफल भयो।
योसँगै मेसीले मियामीका लागि ४०औं गोल पूरा गरे। जसले क्लबको कीर्तिमान अझै अगाडि बढाएको छ। पहिलो हाफको इन्जुरी समयमा उनले १८ यार्ड बक्सको छेउबाट बायाँ खुट्टाले भलि हानेर उत्कृष्ट शैलीमा गोल गरेका थिए।
बराबरीसँगै मियामीले पूर्वी क्षेत्रमा चार जित, दुई बराबरीसहित १३ अंक पुर्याएकझ छ। तर, मियामी कोलम्बसभन्दा एक अंकले पछि परेको छ। मियामीले अझै एक खेल कम खेलेको छ।
टोरन्टोका फेडेरिको बर्नार्डेस्कीले खेलको स्कोर खोलेका थिए, जुन गोलपछि केवल तीन मिनेटमै मेसीले मियामीलाई खेलमा फर्काएका हुन्। यसअघि मेसीले एक गोल गरेका थिए। तर, फाउलको कारण रद्द गरिएको थियो।
यो सिजन टोरन्टोले दोस्रो पटक मात्रै अग्रता लिएको हो। पहिलो पटक गत महिना शिकागोविरुद्ध १९ मिनेटका लागि अग्रता लिएको थियो। तर, यसपटक मेसीले तीव्र जवाफ दिँदै अग्रता लामो समय टिक्न दिएनन्।
लगातार मेसीको प्रभाव
मेसीले यस सिजन खेलेका सबै चारवटै एमएलएस खेलमा गोल र असिस्ट गरेर टोलीमा आफ्नो प्रभाव जमाएका छन्। मियामीले समग्रमा आठ जित, एक हार र दुई बराबरी खेलेको छ। यो तथ्यांकमा कन्काकाफ च्याम्पियन्स कपका चार जित पनि समावेश छन्। मियामीको एक मात्र हार गत साता एलएएफसीसँग १–० ले भएको थियो।
मियामीले च्याम्पियन्स कपको दोस्रो लेग बुधबार फोर्ट लडरडेलमा खेल्नेछ भने अर्को एमएलएस खेल आइतबार शिकागो फायरविरुद्ध हुनेछ। टोरन्टोले भने शनिबार मिनेसोटाविरुद्ध घरेलु मैदानमा खेल्नेछ।