काठमाडौं। युभेन्ट्सले आइतबार राति रोमा विरुद्ध १–१ को बराबरी खेलेपछि सिरी ‘ए’ को अंक तालिकामा शीर्ष चारमा उक्लिने अवसर गुमाएको छ। दुवै टोली च्याम्पियन्स लिगमा स्थान बनाउने होडमा छन्।
म्यानुएल लोकेतेल्लीले पहिलो हाफको अन्त्यतिर सुन्दर भली गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए। तर, एल्डोर शोमुरोदोभले दोस्रो हाफको चौथो मिनेटमा बराबरी गोल गर्दै रोमालाई महत्त्वपूर्ण एक अंक दिलाए। यो शोमुरोदोभको सिजनको छैठौं गोल हो।
युभेन्ट्सलाई च्याम्पियन्स लिगमा प्रवेश गराउने उद्देश्यले प्रशिक्षक इगोर ट्युडोरलाई गत महिना नियुक्त गरिएको थियो। तर, प्रत्यक्ष प्रतिस्पर्धीविरुद्ध बराबरीले अब शीर्ष चारको दौड झन् जटिल बनाएको छ।
हाल युभेन्ट्स र चौथो स्थानमा रहेको बोलोनिया दुवैसँग ५६ अंक छ। तर, बोलोनियाले एक खेल कम खेलेको छ। यदि सोमबार राति बोलोनिया नापोलीसँग पराजित भएमा युभेन्ट्स गोल अन्तरका आधारमा चौथो स्थानमा पुग्नेछ।
रोमा पछिल्ला सात खेल जितेर आएको थियो र घरमै खेलिरहेकोले आत्मविश्वासमा थियो। बराबरीसँगै रोमाले सात खेलको जित श्रृंखला रोकिएपनि कठिन अन्त्य सिजनको लागि आशा देखाएको छ।
‘अंक बाँड्नु दुःखद् हो तर हामी अगाडि बढ्छौं। यसले हामीलाई आत्मविश्वास दिन्छ,’ रोमाका गोलरक्षक माइल स्विलारले भने। अब रोमाले अर्को साता रोम डर्बीमा लाजियोको सामना गर्नेछ, जुन निकै रोचक हुने अपेक्षा गरिएको छ। यता, एटलान्टा र बोलोनियाबीचको भिडन्त पनि च्याम्पियन्स लिग स्थानको लागि निर्णायक हुनेछ।
एटलान्टा संकटमा
केही साताअघिसम्म शीर्ष स्थानको दाबेदार देखिएको एटलान्टा अहिले तेस्रो स्थानमा पुगेको छ। टोलीले पछिल्ला तीन खेलमा गोलविहीन हार बेहोरेको छ। आइतबार लाजियोसँग १–० को हारपछि एटलान्टा केवल दुई अंकले युभेन्ट्सभन्दा अगाडि छ।
गुस्ताव इसाक्सेनले खेलको ५४औं मिनेटमा रक्षात्मक त्रुटिको फाइदा उठाउँदै निर्णायक गोल गरेका थिए। एटलान्टाले डिसेम्बरयता घरेलु मैदानमा कुनै खेल जितेको छैन र पछिल्ला चार घरेलु खेलमा गोल पनि गर्न सकेको छैन।
प्रशिक्षक जियान पिएरो गास्पेरिनी सन् २०१६ देखि क्लबमा छन्। उनले एटलान्टालाई युरोपा लिगको उपाधिसम्म पुर्याएका छन्। तर, उनको भविष्यबारे शंका गहिरिँदै गएको छ। ‘मेरो भविष्यबारेको अड्कलबाजी हालको प्रदर्शनसँग कुनै सम्बन्ध छैन,’ उनले भने, "
खेलमा माटेओ रेटेगुइले इसाक्सेनको गोल हुनु चार मिनेटअघि मात्र उत्कृष्ट अवसर गुमाएको थियो। त्यसपछि उनलाई र आडेमोला लुकमनलाई ७५औं मिनेटमा प्रतिस्थापन गरिएको थियो।