सिमरा। साबिक विजेता तथा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पन्छाउँदै मच्छिन्द्र फुटबल क्लब जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
गोलकिपर विशाल सुनार नायक बन्दा आइतबार सम्पन्न खेलमा मच्छिन्द्रले ४–३ को जित निकालेको हो। खेलको म्यान अफ द म्याच विशालले टाइब्रेकरमा पुलिसको अन्तिम प्रहार विफल पार्दै मच्छिन्द्रलाई अन्तिम चारमा पुर्याए।
टाइब्रेकरमा मच्छिन्द्रका विशाल, विपन श्रेष्ठ, अशिम गुरुङ र पुजन श्रेष्ठले गोल गरे। विवेक राईको प्रहार गोलपोस्टभन्दा परबाट बाहिरिएको थियो।
पुलिसका गोलकिपर अमित टमाटा, पुजन राई र कप्तान मानबहादुर परियारले गोल गरे। विवेक पाण्डेको प्रहार बाहिरिएको थियो भने अरुण गाहाको प्रहार मच्छिन्द्रका गोलकिपर विशालले पञ्च गर्दै बाहिर पठाए।
यसअघि निर्धारित ९० मिनेटको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा पुलिस प्रतियोगिताबाट बाहिरिन बाध्य भयो। पुलिसले विवेक पाण्डेको फ्रिकिक गोलबाट दोस्रो हाफको सुरुआतमै अग्रता लिएको थियो।
पेनाल्टी बक्सबाहिर मच्छिन्द्रका रेजिन सुब्बाले पुलिसका प्रज्वल चौधरीलाई फाउल गरेपछि पुलिसले फ्रिकिक प्राप्त गरेको थियो। करिब २५ यार्ड परबाट विवेकले प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो।
तर, ६१ औं मिनटमा उत्कृष्ट पुनरागमन गर्दै मच्छिन्द्रले खेल आफ्नो पक्षमा पार्यो। अरुणको प्रहारलाई पुलिसको पेनाल्टी बक्सभित्र नियन्त्रणमा लिँदै अनिल रानामगरले दिएको सर्ट पासलाई राजीव लोप्चनले गोलमा परिणत गरे।