इलाम। इलामको प्रथम चुलाचुली अन्तरपालिका स्तरीय अध्यक्ष कप पुरुष नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चुलाचुली गाउँपालिका र कमल गाउँपालिका झापा भिड्ने भएका छन्।
चुलाचुली गाउँपालिका स्तरीय युवा तथा खेलकुद समन्वय समितिको आयोजना तथा चुलाचुली–४ नम्बर वडा कार्यालयको सह आयोजनामा प्रतियोगिता आगामी वैशाख ३ गतेदेखि सुरु हुँदैछ।
खेल चुलाचुली–४ स्थित श्री बालज्योती माध्यमिक विद्यालयको मैदानमा हुनेछ। प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने खेलकुद समन्वय समितिका संयोजक डम्बर तुम्रोकले जानकारी दिए।
प्रतियोगिता सम्पन्न गर्नका लागि चुलाचुली गाउँपालिकाले आठ लाख तथा ४ नम्बर वडा कार्यालयले एक लाख रुपैयाँ दिएको छ। प्रतियोगितामा चुलाचुली गाउँपालिकासँग भौगोलिक सिमाना जोडिएका पालिकाहरू झापाको दमक नगरपालिका, कमल गाउँपालिका मोरङको मिक्लाजुङ गाउँपालिका तथा इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकाका टिमसहित आयोजक चुलाचुली गाउँपालिकाको दुई टिम सहभागी छन्।