काठमाडौं। साउथह्याम्प्टन इङ्लिस प्रिमियर लिगबाट यस सिजन रेलिगेट हुने पहिलो टोली बनेको छ। आइतबार सम्पन्न खेलमा टोटनह्यामसँग ३–१ ले पराजित भएसँगै औपचारिक रूपमा रेलिगेट भएको हो।
३१ खेलमा जम्मा १० अंक मात्रै जोड्न सफल साउथह्याम्प्टनलाई अब १७औं स्थानमा रहेको वुल्भ्सभन्दा माथि उक्लिन असम्भव छ। वुल्भ्सले समान खेलबाट ३२ अंक जोडेको छ। वुल्भभन्दा तल इस्विच टाउन र लेस्टर सिटी छन्। यी दुईवटै क्लब रेलगेसन जोनमा छन्।
प्रिमियर लिगको इतिहासमा साउथह्याम्प्टन सबैभन्दा छिटो रेलिगेसन पर्ने चौथो क्लब बनेको छ। २९ मार्च २००८ मा डर्बी काउन्टी रेलिगेसनमा परेको अहिलेसम्मकै सबैभन्दा छिटो कीर्तिमान हो।
त्यसपछि हडर्सफिल्ड र फुलहम छिटै रेलिगेसनमा परे। साउथह्याम्प्टन अहिले सन् २००२ मा रेलिगेट भएको लेस्टरसँग बराबरी अवस्थामा छ।
यस रेलिगेसनले साउथह्याम्प्टनका समर्थकहरूमा ठूलो निराशा थपेको छ। टोटनह्याम हटस्पर स्टेडियममा भएको खेलमा ब्रेनन जोन्सनले पहिलो हाफमै दुई गोल गर्दै साउथह्याम्प्टनलाई दबाबमा राखे।
माटेउस फर्नान्डेसले अन्त्यतिर एक गोल फर्काए तापनि साउथह्याम्प्टनलाई खेलमा फर्काउन सकेनन्। थप समयमा माथिस टेलले पेनाल्टीमार्फत गोल गर्दै टोटनह्यामलाई ३–१ को जित दिलाए।