काठमाडौं। आर्सेनलले इङ्लिस प्रिमियर लिगमा अघिल्लो दिन अंक खेर फालेको फाइदा लिन नसक्दा लिभरपुलले शीर्ष स्थानमा थप बलियो हुने अवसर गुमाएको छ।
तर, टोली अझै पनि लिगको कीर्तिमान बराबरी गर्ने २०औं उपाधि जित्ने दौडमा कायम छ। क्राभेन कटेजमा फुलहमसँग लिभरपुलले ३–२ को हार बेहोरेको हो। यस सिजन लिगमा लिभरपुलको यो दोस्रो हार हो।
खेलको १४औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। तर,र्यान सेसेन्योन, एलेक्स इवोबी र रोड्रिगो मुनीजले गोल गर्दै फुलहमलाई पहिलो हाफमै ३–१ को अग्रता दिलाए।
लुइस डियाजले दोस्रो हाफमा लिभरपुलका लागि दोस्रो गोल फर्काए तापनि बराबरी सम्भव भएन। उपाधिका लागि अब लिभरपुललाई सात खेलबाट ११ अंक मात्र आवश्यक छ।
उक्त अंक जोडेमा लिभरपुलले सन् २०२० यता पहिलो र समग्रमा २०औं लिग उपाधि जित्नेछ। योसँगै आर्ने स्लटको टोलीले म्यानचेस्टर युनाइटेडको कीर्तिमान बराबरी गर्नेछ। अबको प्रत्येक खेल लिभरपुलका लागि निर्णायक बन्नेछ।