काठमाडौं। झापा एफसीका मिडफिल्ड। एरोन थापाले नेपाल सुपर लिग (एनएसएल)का दुई खेलमा बेन्चबाट सुरुआत गरेका छन्।
काठमाडौं रेजर्सविरुद्धको गोलरहित बराबरी भएको खेलमा उनले हानेको एक उत्कृष्ट प्रहार माथिल्लो बारमा लागेर फर्किएको थियो। आइतबार शीर्ष स्थानमा रहेको एफसी चितवनविरुद्धको खेलमा भने झापालाई हारबाट जोगाउन उनले नायकी भूमिका खेले।
इन्जुरी समयमा उनको ‘स्मार्ट मुभ’ले झापाले पेनाल्टी पायो, जसमा घानाका अलहाजी गिरोले गोल गर्दै हारबाट जोगाए। जारी सिजनमा झापाले गरेको र चितवनले खाएको यो पहिलो पहिलो गोल हो।
तर, हरेक खेलमा बेन्चबाट प्रवेश गरे पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने एरोनलाई किन मुख्य प्रशिक्षक प्रवेश कटवालले सुरुआती ११ मै खेलाउँदैनन् त? एरोन भन्छन्,‘सबैको प्रश्न नै यही हुन्छ। किन झापाले मलाई सुरुआती ११ मै खेलाउँदैन?’
मोफसलको लिगबाट पहिलोपल्ट एरोनले एनएसएलमा स्थान बनाएका हुन्। तर, एनएसएलमा डेब्यु गर्नअघि नै उनी चोटग्रस्त थिए। त्यसैले गर्दा ‘सी’ श्रेणीबाट झापामा अटाएका उनलाई प्रशिक्षक कटवालले बुटवल लुम्बिनीविरुद्धको पहिलो खेलमा मैदान उतारेका थिएनन्।
काठमाडौंविरुद्धको दोस्रो खेलमा पनि उनी ६५औं मिनेटमा फरवार्ड ऋतिक खड्काको स्थानमा मैदान उत्रिएका थिए। र, अझै पनि उनी ९० मिनेट नै खेल्न अझै सक्षम भइसकेका छैनन्।
यही कारणले गर्दा कटवालले उनलाई दोस्रो हाफको अन्तिम अन्तिम समयमा मात्रै मौका दिइरहेका हुन्। त्यसमा एरोन पछिल्ला दुई खेलमा खरो उत्रिएका छन्।
भन्छन्,‘हलुका चोट थियो। त्यसले गर्दा खेल्न मिलेको थिएन। अहिले फिजियोले गर्दा मैदान उत्रिन सक्ने भएको छु।’ झापा जारी प्रतियोगितामा तीन खेलबाट तीन अंक पुर्याएको छ।
झापा एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएन सफल भएको छ। झापाले यसअघि बुटवल लुम्बिनी एफसी र काठमाडौंसँग गोलरहित बराबरी खेलेको थियो।
यसपल्ट भने झापाले २८औं मिनेटमा प्रतियोगिताकै पहिलो गोल बेहोर्यो। सुमित श्रेष्ठले बायाँ भागबाट दिएको पासमा कप्तान अन्जन विष्टले हानेको बल झापाका छिरिङ लामालाई डिफ्लेक्ट भएपछि बक्समा शिशिर लेखीले प्राप्त गरेका थिए। शिशिरले दिएको पासमा घानाका खेलाडी टोरिक जेब्रनले गोल गर्दै चितवनलाई अग्रता दिलाएका हुन्।
तर, जितनजिक पुगिसकेको चितवनलाई एरोन नायक बने। उनी ६५औं मिनेटमा ऋतिककै स्थानमा मैदान प्रवेश गरेका हुन्। ९२औं मिनेटमा नीरज चौधरीले बल अगाडि बढाइरहेका उनलाई पेनाल्टी बक्सभित्र लडाएपछि झापाले पेनाल्टी पाएको थियो। त्यही पेनाल्टी झापालाई ‘टर्निङ पोइन्ट’ बन्यो।
उक्त पेनाल्टीलाई गिरोले गोल गर्दै झापालाई खेलमा फर्काए। जारी प्रतियोगिता नाइजेरियन खेलाडी र झापाको यो नै पहिलो गोल हो। पछिल्लो दुई संस्करणमा झापाको यो सातौं बराबरी हो।