काठमाडौं। इन्जुरी समयमा सम्हालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल)मा झापा एफसीसँग अंक बाँड्नु परेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा चितवनले झापासँग १–१ को बराबरी खेलेको हो। यो नतिजासँगै शीर्ष स्थानको चितवनले तीन खेलबाट सात अंक पुर्याएको छ, जुन दोस्रो स्थानमा रहेको साबिक विजेता ललितपुर सिटी एफसीको भन्दा दुई अंक बढी हो।
झापा भने समान खेलबाट तीन अंक पुर्याएको छ। झापा एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिन सफल भएको छ। झापाले यसअघि बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्ससँग गोलरहित बराबरी खेलेको थियो।
चितवनका टेरिक जेब्रनले गोल गरे। झापाका अलहाजी गिरोले बराबरी गोल फर्काएका हुन्। २८औं मिनेटमा चितवनले गोल सुरुआती अग्रता लिएको थियो।
सुमित श्रेष्ठले बायाँ भागबाट दिएको पासमा कप्तान अन्जन विष्टले हानेको बल झापाका छिरिङ लामालाई ‘डिफ्लेक्ट’ भएपछि बक्समा रहेका शिशिर लेखीले प्राप्त गरेका थिए। शिशिरले दिएको पासमा घानाका खेलाडी टोरिकले गोल गर्दै चितवनलाई अग्रता दिलाएका हुन्।
झापाले यस सिजन बेहोरेको यो नै पहिलो गोल हो। तर, जितनजिक पुगिसकेको चितवनलाई रोक्न एरोन थापा नायक बने। बेञ्चबाट सुरुआत गरेका उनको ‘स्मार्ट मुभ’का कारण झापाले खेलमा फर्किने अवसर प्राप्त गर्यो।
९२औं मिनेटमा नीरज चौधरीले बल अगाडि बढाइरहेका एरोनलाई पेनाल्टी बक्सभित्र लडाएपछि झापाले खेलमा फर्किने अवसर प्राप्त गरेको थियो। उक्त पेनाल्टीलाई गिरोले गोलमा परिणत गर्दै झापालाई हारबाट जोगाए। जारी प्रतियोगिता नाइजेरियन खेलाडी र झापाको यो नै पहिलो गोल हो।
यस्तै, चितवनले पनि खाएको यो नै पहिलो गोल हो। चितवनले अघिल्ला खेलमा पोखरा थन्डर्सलाई २–० र बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गर्दै ‘क्लिन सिट’ राखेको थियो। तर, गिरोको गोलसँगै चितवनले लगातार तेस्रो खेलमा ‘क्लिन सिट’ राख्ने मौका गुमायो।
पछिल्लो दुई संस्करणमा झापाको यो सातौं बराबरी हो।