काठमाडौं। नेपालले अबको आठ दिनपछि हङकङमा चारदेशिय टी–२०आई सिरिज खेल्दै छ।
तर, नेपाल क्रिकेट संघ (क्यान)ल नियुक्त गरिसकेको भनिएका मुख्य प्रशिक्षक स्टुअर्ट ल अझै नेपाल आइपुगेका छैनन्। त्यसैले नेपालले ९ देखि १३ अप्रिलसम्म हुने सिरिज उनीबिना नै खेल्ने भएको छ।
क्यानका म्यानेजर विनोद दासका अनुसार श्रम स्वीकृतिसम्बन्धि कानुनी कुरा मिल्न अझै बाँकी रहेको कारण नेपालले हङकङको सिरिज नेपाली प्रशिक्षककै प्रशिक्षणमा खेल्ने पक्का भएको हो।
‘उहाँ चाँडै नेपाल आउनुहुन्छ। तर, उहाँको नियुक्तिमा विभिन्न निकायबाट स्वीकृति लिनुपर्ने प्रवधान छ। अहिले खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेको स्वीकृति लिने प्रकृयामा छौं,’ उनले भने।
सिरिजमा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन्। नेपालले कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ।
लिग चरणमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्। तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
यो सिरिजमा को मुख्य प्रशिक्षक रहने भन्ने कुरा क्यानले छिट्टै नै सार्वजनिक गर्ने दासले बताए। ‘लोकल प्रशिक्षक नै जाने हुन्। तर, क्यान नै आधिकारिक हो। क्यानले नै सार्वजनिक गर्छ,’ उनले भने। पछिल्लो समय नेपाल ‘ए’ क्रिकेट टिम पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सम्हालिरहेका छन्। त्यसैले उनीले नै सिनियर टिम सम्हाल्ने अनुमान गरिएको छ।
त्यसबाहेक नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगट टमाटा र नेपाल ‘ए’ क्रिकेट टिमका सहायक प्रशिक्षक कलाम अली पनि क्यानसँग रहेका वैकल्पिक प्रशिक्षक हुन्। यीमध्ये कसै एकले टिम सम्हाल्ने दास बताउँछन्।