काठमाडौं । दक्षिण अफ्रिका महान पुर्व क्रिकेटर जोन्टी रोड्स तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको गुडविल एम्बासडर नियुक्त भएका छन् ।
आयोजक धनगढी क्रिकेट एकेडमीले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै रोड्सलाई डीपीएलको गुडविल एम्बासडर नियुक्त गरेको जनाएको छ ।
'प्रतियोगिताको गुडविल एम्बासडरको रुपमा जोन्टीको आगमनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) र विश्व क्रिकेट जगतको ध्यान प्रतियोगितामा तानिने विश्वास लिएका छौँ,' एकेडमीका अध्यक्ष सुवास शाहीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, 'उनको उपस्थितिले खेलाडी र खेल प्रेमीहरुलाई समेत उत्साह र प्रेरणा दिनेछ ।'
गुडविल एम्बासडर चयन भएसंगै रोड्स माघ २६ गतेबाट सुरु हुने डीपीएल अवधिभर धनगढीमानै रहनेछन् । यस्तै प्रतियोगिता दौरान बिभिन्न कार्यक्रमहरुमा आबद्ध हुनेछन्।
दक्षिण अफ्रीकाको लागि ५२ टेष्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो फिल्डिङको कारण विश्व प्रसिद्ध छन्।
धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुने देशकै सर्वाधिक पुरस्कार राशीको डीपीएलमा धनगढी स्टार्स, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले प्रतिस्पर्धा गर्ने छन् ।
टी-ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोली प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ । पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।
प्रतियोगिताका लागि ६ वटै टोलीले अक्सनबाट खेलाडी अनुबन्ध गरिसकेको छ । डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरि १५—१५ खेलाडी टोलीसँग आवद्ध गरेका छन् ।