काठमाडौं । हिमाल डेन्टल रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)मा हाईजिन पार्टनर हुने भएको छ। मंगलबार हिमाल डेन्टलका प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र धनगढी क्रिकेट एकेडेमीका निर्देशक प्रकाश खड्काबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
नगद र अन्य शिर्षकमा गरि ७ लाख रुपैयाँ बराबरको सम्झौता दुवै बीच भएको हो । डेन्टलले रुस्लान डिपीएल खेल्ने प्रत्येक खेलाडीलाई ५ हजार रुपैयाँ बराबरको निशुल्क दाँत चेक कप गराउने छ।
रुस्लन डिपीएल यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा आयोजना हुँदैछ।
डीपीएलको तेस्रो संस्करण अनुमानित लागत ५ करोड रुपैयाँको लागतमा फाप्ला क्रिकेट मैदानमा हुदैछ। लिगमा यो पटक पनि ६ वटा सहरको प्रतिनिधित्व गर्ने टोलिहरु रहेका छन् जसमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङ्ग्स र महेन्द्रनगर युनाईटेड रहेका छन्। यो पटक पनि डिपिएलले आफुलाई सर्वाधिक धनराशीको प्रतियोगिता हुने घोषणा गरिसकेको छ।
६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन्। डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरि १५/१५ खेलाडी टोलीसँग आवद्ध गरेका छन्।
टी ट्वान्टी फर्म्याटकाे प्रतियोगिता लिग कम नकआउट चरणमा खेलाइनेछ। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् ।
त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।
टिम र रणनीतिक खेलाडीहरु –
धनगढी स्टार्स – सोमपाल कामी
महेन्द्रनगर युनाइटेड – शरद भेशवाकर
बिराटनगर किंग्स –करन केसी
रुपन्देही च्यालेन्जर्स – बसन्त रेग्मी
काठमाडौँ गोल्डेन्स – ज्ञानेन्द्र मल्ल
सीवाईसी अत्तरिया –दिपेन्द्र ऐरि