काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटअन्तर्गत मलेसयाविरुद्धको खेलमा एक परिवर्तन गरेका छन्।
सुल्तान इब्राहिम स्टेडियम खेल साँझ ७: ४५ बजे हुने तय छ। उक्त खेलका लागि रसले सिंगापुरसँग खेलेको टोलीमा एक परिवर्तन गरेका हुन्।
उनले सुरुआती ११ मा नियमित खेल्दै आएका फरवार्ड अञ्जन विष्टलाई आराम दिएका छन्। उनको स्थानमा मिडफिल्डर लाकेन लिम्बूलाई सुरुआती ११ मा समेटेका छन्।
नेपाली राष्ट्रिय टोलीको जर्सीबाट अञ्जन सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउन एक गोलबाट मात्रै टाढा छन्। हरि खड्का, निराजन रायमाझीसँग उनको संयुक्त १३ गोलको रेकर्ड छ।
नेपाल हाल फिफा वरीयतामा १७५औं स्थानमा छ भने मलेसिया १३२औं स्थानमा छ। विगत सात भेटमा नेपालले मलेसियालाई पराजित गर्न सकेको छैन। मलेसियाले ६ खेल जित्दा एक खेल बराबरीमा सकिएको छ।
नेपाल र मलेसियाबीचको अन्तिम भेट २०१९ मा मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ नेपाल २–० ले पराजित भएको थियो।
यसअघि सन् १९८३ को मर्डेका कपमा मलेसियाले नेपाललाई ७–० ले पराजित गरेको थियो। नेपालले सन् १९८० को दशकमा भएको विश्वकप छनोटमा मलेसियासँग एक बराबरी खेल्दा अन्य खेलमा ठूलो हार ब्यहोरेको थियो।
नेपालको सुरुआती ११
किरण चेम्जोङ (कप्तान तथा गोलकिपर), सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, जेलेस्पीजंघ कार्की, एरिक विष्ट, सुमित श्रेष्ठ, लाकेन लिम्बू, आयुष घलान, मनीष डाँगी र रोहित चन्द