बुटवल। राजीव लोप्चनको निर्णायक गोलसँगै मच्छिन्द्र फुटबल क्लब २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनलमा मच्छिन्द्रले एडोर्न गडवाल स्पोर्टिङ क्लब, देहरादुनमाथि १–० कठिन जित निकालेको हो।
बराबरीतर्फ उन्मुख खेलमा राजीवले गोल गरेका हुन्। उनले निर्धारित ९० मिनेटको खेल सकिन अन्तिम दुई मिनेट बाँकी रहँदा गोल गरेका हुन्। फ्रिककमार्फत आएको बललाई विवेक राईले पेनाल्टी बक्सबाहिरबाट भलिको प्रयास गरेका थिए। तर, उचाइ लिँदै सिक्सयार्ड बक्सनजिक बल खस्न पुग्दा अनमार्क रहेका राजीवलाई गोलको अवसर जुरेको हो। जसलाई उनले बिनागल्ती लेफ्ट फुटेट सटमार्फत पहिलो बारतर्फ गोल गरे।
यो गोलसँगै खेल टाइब्रेकरमा पुग्न पाएन। खेलको म्यान अफ द म्याच पनि राजीव नै घोषित भए। उनले ११ हजार १११ रुपैयाँ प्राप्त गरे।
योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनलमा विभागीय टोली एपिएफ र संकटा क्लब भिड्ने भएका छन्। यी दुईबीचको खेल बुधबार अपरान्ह्र ४ बजे हुनेछ।
एपिएफले आयोजक रुपन्देही–११ लाई १–० र संकटाले जर्जियन फुटबल क्लब कालिम्पोङ भारतलाई ४–० ले पाखा लगाउँदै अन्तिम चारमा स्थान बनाएका हुन्।
दोस्रो सेमिफाइनल चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र भिड्नेछन्। यी दुईबीचको खेल भने बिहीबार हुने तय छ। दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो।
सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण खेलपाटी टिभी (युट्युब) मार्फत भइरहेको छ।