काठमाडौं। नेपाली पुरुष फुटबल टिम सिंगापुरमा ऐतिहासिक जित हात पारेपछि एसियन कप २०२७ तेस्रो चरणको छनोटमा मलेसयाविरुद्ध मंगलबार हुने खेलमा अली आत्मविश्वासी देखिएको छ।
वास्तवमै स्तरअनुरुप हेर्ने हो भने नेपालभन्दा माथिल्लो स्तरको टिम हो मलेसिया। फेरि, घरेलु खेल पनि मलेसियाकै हो र बाहुल्य दर्शकको साथ पनि उसैलाई हुनेछ। फिफा वरीयताले पनि मलेसिया माथि नै देखाउँछ। वरीयतामा मलेसिया १ सय ३२ औं स्थानमा छ भने नेपाल १७५ औं मा।
दशरथ रंगशाला तयार नहुँदा घरेलु खेललाई ‘अवे’ बनाएको नेपालले तेस्रो चरणको छनोटको यात्रा सुल्तान इब्राहिम स्टेडियमबाट थाल्दैछ। त्यसपछि नेपालले लाओस र भियतनामविरुद्ध खेल्नेछ।
मलेसियाविरुद्ध नेपालको खेल दुई अस्ट्रेलियन प्रशिक्षकको प्रतिस्पर्धा पनि हो। म्याट रसले नेपाली टिम सम्हालेका छन् भने पिटर क्लमोभ्स्कीले मलसियन टिम। यी दुई टिमका मुख्य खेलाडीबारे थोरै चर्चाः
किरण चेम्जोङ
गोलकिपर, नेपाल
नेपाली टिमका सबभन्दा अनुभवी खेलाडी हुन् किरण चेम्जोङ। १०५ खेल खेलेका उनी नेपाली टिमका कप्तान पनि हुन्। क्लब फुटबल नखेलेको नौ महिना भएपनि ३५ वर्षीय उनले राष्ट्रिय टिमबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
नेपालले पछिल्ला दुई खेलमा किरणकै उत्कृष्ट प्रदर्शनको सहयोगमा अफगानिस्तान र सिंगापुरलाई पराजित गरेको थियो। नेपाल, भारत र माल्दिभ्सको लिग च्याम्पियन भएसँगै उत्कृष्ट गोलकिपरको अवार्ड पनि जितेका ३५ वर्षीय किरणले गत शुक्रबार सिंगापुरविरुद्ध खेलको अन्त्यतिर श्रृंखलाबद्ध बचाउ गर्दै नेपाललाई ऐतिहासिक जित दिलाएका थिए।
कठिन खेलमा पनि आत्मविश्वासी भएर गोलपोष्टमा उभिने गरेका किरणले एसियन कप २०२७ छनोटको तेस्रो चरणको सुरुआती खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ। उनको ट्रान्सफर मार्केटको मूल्य एक लाख युरो उल्लेख छ।
हेक्टर हेभेल
मिडफिल्डर, मलेसिया
मलेसियाले ‘हेरिटेज प्लेयर’का रुपमा भित्रयाएका नयाँ खेलाडी हुन् हेक्टर हेभेल। नेदरल्यान्ड्समा जन्मिएका उनी अट्याकिङ मिडफिल्डर हुन्। उनले यू १६, यू १९ र यू २० डच टिमबाट खेलिसकेका छन्।
उनीसँग नेदरल्यान्ड्स र साइप्रसको शीर्ष श्रेणीसँगै स्पेनको सेगुन्डा डिभिजन, चीनको लिग वान र पोर्चुगलको लिग २ खेलेको अनुभव पनि छ। यो सिजन पोर्टिमोनेन्सबाट पोर्चुगलको दोस्रो श्रेणीको लिग खेलिरहेका हेभेलको आगमनले मलेसियान टिमलाई बलियो बनाउने अपेक्षा गरिएको छ। २८ वर्षीय उनी प्राविधिक रुपमा उत्कृष्ट छन्।
उनी भर्सटाइल मिडफिल्डर हुन्। सेन्ट्रल र अट्याकिङ मिडफिल्डमा जम्ने गरेका छन्। उनी खेल नियन्त्रण गर्दै गोलका लागि सटिक पास उपलब्ध गराउन सिपालु छन्। उनको ट्रान्सफर मार्केटको मूल्य चार लाख ५० हजार युरो उल्लेख छ।