काठमाडौं। नेपालले एएफसी एसियन कप २०२७ छनोटमा मंगलबार घरेलु टोली मलेसियासामु चुनौती प्रस्तुत गर्दैछ।
जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा हुने समूह एफको खेल नेपाली समय अनुसार राति ७:४५ बजे हुनेछ। नेपाल हाल फिफा वरीयतामा १७५औं स्थानमा छ भने मलेसिया १३२औं स्थानमा छ।
विगत सात भेटमा नेपालले मलेसियालाई पराजित गर्न सकेको छैन। मलेसियाले ६ खेल जित्दा एक खेल बराबरीमा सकिएको छ। नेपाल र मलेसियाबीचको अन्तिम भेट २०१९ मा मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ नेपाल २–० ले पराजित भएको थियो।
यसअघि सन् १९८३ को मर्डेका कपमा मलेसियाले नेपाललाई ७–० ले पराजित गरेको थियो। नेपालले सन् १९८० को दशकमा भएको विश्वकप छनोटमा मलेसियासँग एक बराबरी खेल्दा अन्य खेलमा ठूलो हार ब्यहोरेको थियो।