काठमाडौं। इङ्ग्ल्यान्डले सोमबार वेम्बली स्टेडियममा भएको विश्वकप छनोट खेलमा लाट्भियालाई ३–० ले पराजित गरेको छ।
रिस जेम्सको उत्कृष्ट फ्रिकिक गोल र एबेरेची एजेको पहिलो अन्तर्राष्ट्रिय गोलले इङ्ग्ल्यान्डलाई सहज जित दिलायो।
दुई वर्ष ६ महिनापछि पहिलोपल्ट सुरुआती खेल खेलिरहेका जेम्सले खेलको ३७औं मिनेटमा २५ मिटर टाढाबाट सानदार फ्रिकिक गोल गरे। यो उनको १८औं अन्तर्राष्ट्रिय खेलमा पहिलो गोल हो।
‘यो सजिलो खेल थिएन। हामीले धेरै राम्रो पक्ष देख्यौं, अवसर सिर्जना गर्यौं। तर, खाता खोल्न फ्रिकिकको आवश्यकता पर्यो। म टोलीको ऊर्जा, चाहना र दृष्टिकोणबाट खुसी छु। हामी सुधार गर्दै जानेछौं,’ प्रशिक्षक थोमस टुचेलले भने।
दोस्रो हाफको मध्यतिर घरेलु समर्थकहरू अलि अधैर्य बन्दै गर्दा युवा मिडफिल्डर मोर्गन रोजर्सले डेक्लान राइससँग राम्रो संयोजन गर्दै ह्यारी केनलाई सजिलो ट्याप–इन गोलको अवसर सिर्जना गरे।
पछि एजेले दायाँतर्फबाट ‘कट’ गर्दै प्रहार गरेको बल हल्का डिफ्लेक्सन लिएर जाली चुम्यो। इङ्ग्ल्यान्ड युरोप समूह ‘के’ जितेर २०२६ विश्वकपका लागि छनोट हुने प्रमुख दाबेदार मानिएको छ। नयाँ प्रशिक्षक टुचेलको यो दोस्रो खेल थियो। उनले प्रदर्शनभन्दा नतिजाबाट सन्तुष्ट रहेको बताए।
टुचेलले चेल्सीमा आफ्नो कार्यकालका बेला चिनेका जेम्सको पुनरागमनप्रति खुसी व्यक्त गरे। ‘म रिसलाई चिन्छु, उनको प्रतिभा असाधारण छ। उनले आफ्नो प्रदर्शनमा गर्व गर्न पाउने हक राख्छन्। उनीमा राम्रो फिटनेसमा छन्, तीखा देखिन्छन् र उनको गुणस्तरमा कुनै शंका छैन,’ उनले भने।