बुटवल। जर्जियन फुटबल क्लब कालिम्पोङ भारतलाई पाखा लगाउँदै संकटा क्लब २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिग क्लब संकटाले जर्जियनलाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। संकटाको जितमा चार गोल नै सृजनराज गौतमले गरेका हुन्।
योसँगै १९औं संस्करणको विजेता संकटाले फाइनल प्रवेश गर्न अब विभागीय टोली एपिएफ क्लबसामु चुनौती पेस गर्नेछ। पहिलो क्वार्टरफाइनलमा आयोजक रुपन्देही–११ लाई १–० ले पराजित गर्दै एपिएफ अन्तिम चारमा प्रवेश गरिसकेको छ।
खेलको सुरुआतदेखि नै केही अवसर सिजर्ना गरे पनि संकटालाई पहिलो गोल गर्न ४२ मिनेटसम्म कुर्नु परेको थियो। निर्मल घिसिङले बक्सबाहिरबाट दिएको बललाई सृजनले लेफ्ट फुटेट सर्ट प्रहार गर्दैसेकन्ड बारमा चुमाए। योसँगै संकटा पहिलो हाफमा १–० ले अगाडि रह्यो।
संकटाले दोस्रो हाफमा तालमेलमा सुधार गर्दै तीन गोल थप्यो। ती तीन गोल नौ मिनेटमा भएका हुन्। ८६औं मिनेटमा सृजनले एकल प्रयासमा गोल गर्दै अग्रता दोब्बर बनाए। सुरज थारुले मध्यभागबाट उपलब्ध गराइदिएको बललाई सृजनले जर्जियनका गोलकिपर अगाडि बढेको मौकामा उत्कृष्ट कटिङ गर्दै गोलमा परिणत गरे।
त्यसपछिका दुई गोल उनले इन्जुरी समयमा गरेका हुन्। तेस्रो मिनेटमा जन्मजय धामीले उपलब्ध गराइदिएको बललाई क्लियर गर्न जर्जियनका गोलकिपर पेनाल्टी बक्सबाट निकै बाहिर निस्किएका थिए। तर, बिट हुँदा सृजनले खाली पोस्टमा गोल गर्दै ह्याट्रिक पूरा गरे।
जारी प्रतियोगितामा यो नै पहिलो ह्याट्रिक हो। त्यसको दुई मिनेटपछि मध्यभाग तलबाट जर्जियनका खेलाडीबाट बल खोस्दै उनले सेन्ट्रल ब्याकलाई विफल बनाउँदै एक्लैले गोल गरे। उनी नै खेलको ‘म्यान अफ द म्याच’ घोषित भए र ११ हजार १११ रुपैयाँ प्राप्त गरे।
अन्तिम क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिग उपविजेता मच्छिन्द्र फुटबल क्लब र एडोर्न गडवाल स्पोर्टिङ क्लब खेल्नेछन्। यी दुईबीचको खेल मंगलबार अपरान्ह्र ४ बजे हुने तय छ।
यो खेलको विजेताले चर्च ब्वाइज युनाइटेडलाई फाइनल प्रवेशका लागि चुनौती प्रस्तुत गर्नेछ। आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गरेको थियो।