काठमाडौं। जर्मनीले नेसन्स लिगको दोस्रो हाफमा इटालीको सशक्त पुनरागमन सहेर आइतबार डर्टमन्डमा ३–३ को बराबरी खेल्यो। तर, समग्रमा ५–४ को जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।
जोसुवा किमिचको उत्कृष्ट प्रदर्शनले पहिलो हाफमै जर्मनीलाई ३–० को सहज अग्रता दिलायो। उनले पेनाल्टीमार्फत एक गोल गरे भने जमाल मुसियाला र टिम क्लाइन्डिन्स्टलाई असिस्ट गरे।
तर, चोटग्रस्त इटालीले दोस्रो हाफमा पुनरागमन गर्दै मोइसे कीनको दुई गोलमार्फत घरेलु टोलीलाई दबाबमा राख्यो। ७३औं मिनेटमा इटालीलाई पेनाल्टी दिइएको थियो। तर, भिडियो असिस्टेन रेफ्री (भिएआर)को समीक्षा पछि निर्णय उल्टाइयो।
स्टपेज टाइममा जियाकोमो रास्पाडोरीले पेनाल्टीमार्फत गोल गरेपछि इटालीको आशा जगेको थियो। तर, अन्ततः जर्मनीले समग्रमा ५–४ को अग्रता कायम राख्दै अन्तिम चारमा स्थान पक्का गर्यो।
‘हामीले खेलबाट महत्त्वपूर्ण पाठ सिकेका छौं। हामी उत्कृष्ट फुटबल खेल्न सक्छौं, तर त्यो निरन्तर देखाउनु आवश्यक छ,’ जर्मनीका प्रशिक्षक जुलियन नागेल्समनले भने।
सेमिफाइनलमा पोर्चुगलसँग भिडन्त
यो जितसँगै जर्मनी पहिलो पटक नेसन्स लिगको सेमिफाइनलमा पुगेको हो। अब जर्मनीले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछन्। यसबाहेक बाँकी नेसन्स लिग प्रतियोगिता जर्मनीकै मैदानमा हुनेछ, जहाँ सेमिफाइनल खेल स्टुटगार्ट र फाइनल म्युनिखमा हुने तय छ।
नागेल्समनको नेतृत्वमा जर्मनीले पुनरुत्थान गरिरहेको छ। पछिल्ला १७ खेलमा टोलीले मात्र एक खेलमा पराजय बेहोरेको थियो। त्यो पराजय युरो २०२४ को क्वार्टरफाइनलमा अन्ततः च्याम्पियन बनेको स्पेनविरुद्ध अतिरिक्त समयमा थियो।
इटालीको निराशाजनक नतिजा
इटालीका प्रशिक्षक लुसियानो स्पालेटीले आफ्नो टोली अझ परिपक्व बन्नुपर्ने बताए। ‘दोस्रो हाफमा हाम्रो प्रदर्शन उत्कृष्ट रह्यो, तर पहिलो हाफमा हामी डराएका थियौं,’ उनले भने।
इटालीले पहिलो लेगमा मिलानमा १–० को अग्रता बनाएर पनि हार बेहोरेको थियो। यसपटक टोलीलाई जर्मनीलाई हराउनका लागि असम्भव जस्तै काम गर्नुपर्ने थियो।
इटालीका मुख्य खेलाडीहरू चोटका कारण बाहिर थिए। रिकार्डो कालाफियोरी, आन्द्रेआ क्याम्बियासो, माटेओ रेटेगी र फेडेरिको डिमार्को टोलीमा थिएनन्।
तर, खेल सुरु भएलगत्तै जर्मनीले आक्रामक खेल देखायो। एलेस्सान्द्रो बुओन्जियोर्नोले क्लाइन्डिन्स्टलाई फाउल गरेपछि १७औं मिनेटमा जर्मनीले पेनाल्टी पायो।किमिचले आफ्नो करियरकै चौथो पेनाल्टी लिएर सहजै गोल गरे।।
मुसियालाको चतुरता
२९औं मिनेटमा मुसियालाले दोस्रो गोल गरे। किमिचले कर्नरबाट छिट्टै बल खेल्दा इटालीका खेलाडीले ध्यान दिन सकेनन् र मुसियालाले नजिकबाट सहजै गोल गरे।
४५औं मिनेटमा क्लाइन्डिन्स्टको हेडर गोललाइन क्रस गरेपछि जर्मनी पहिलो हाफमै ३–० को अग्रतामा पुग्यो। दोस्रो हाफमा जर्मनीको खेलको तीव्रता घट्दा इटालीले पुनरागमनको प्रयास गर्यो।
४९औं मिनेटमा मोइसे कीनले पहिलो गोल गर्दै इटालीलाई खेलमा फर्काए। ६८औं मिनेटमा वैकल्पिक खेलाडी रास्पाडोरीले सुन्दर पास दिए, जसलाई कीनले जर्मनीका गोलकिपर ओलिभर बाउमानलाई छक्याउँदै गोलमा परिणत गरे। ७३ औं मिनेटमा इटालीले पेनाल्टी पायो। तर, भिएआरको समीक्षा पछि निर्णय उल्टाइयो।
स्टपेज टाइममा इटालीले अन्ततः पेनाल्टी पायो। यसपटक रास्पाडोरीले सहजै गोल गरे। तर, त्यो पर्याप्त भएन र जर्मनी समग्रमा ५–४ को अग्रता जोगाउँदै सेमिफाइनलमा प्रवेश गर्यो।