काठमाडौं। फ्रान्सका गोलकिपर माइक माइननले दुई पेनाल्टी बचाउँदै आइतबार फ्रान्सलाई क्रोएसियाविरुद्ध ५–४ को पेनाल्टी जित दिलाए।
युइएफए नेसन्स लिगको क्वार्टरफाइनलको दोस्रो लेगमा २–० को जित निकाल्दै फ्रान्सले समग्रमा २–२ को बराबरी गरेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो।
स्टेड दे फ्रान्समा भएको खेलमा माइकल ओलिसे र उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई पहिलो लेगको घाटा बराबरी गर्न मद्दत गरे। थप गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो। तर, माइननले मार्टिन बतुरिना र जोसिप स्टानिसिचको प्रहार रोकिदिए भने फ्रान्जो इभानोभिचले पनि पेनाल्टी गुमाए।
फ्रान्सका लागि जुल्स कौन्डे र थियो हर्नान्डेजले पेनाल्टी मिस गरे। तर, अन्तिममा दायोट उपामेकानोले निर्णायक प्रहार गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे।
‘हामीले बिहानैदेखि यो रात विशेष बन्नेछ भन्ने सोचेका थियौं। हामी जित्नका लागि पूर्ण विश्वासका साथ मैदान उत्रिएका थियौं,’ कप्तान किलियन एमबाप्पेले भने।
उनले थपे,‘यदि खेल पेनाल्टीसम्म पुग्यो भने हामीसँग उत्कृष्ट गोलकिपर छन्, जसले जित निकाल्न सक्छ भन्ने हामीलाई थाहा थियो।’
सन् २०२१ मा नेसन्स लिग जितिसकेको फ्रान्स अब जुन ५ मा जर्मनीको स्टुटगार्टमा साबिक विजेता स्पेनसँग सेमिफाइनल खेल्नेछ। ‘फाइनल पुग्नु हाम्रो मुख्य लक्ष्य हो। यस्तो खेलहरू खेल्न पाउनु विशेष हुन्छ, किनभने यहाँ उपाधि दाउमा छ,’ एमबाप्पेले भने।
सेमिफाइनलको अर्को खेलमा जर्मनी र पोर्चुगल प्रतिस्पर्धा गर्नेछन्।
क्रोएसिया विश्वकप छनोटमा ध्यान दिने
सन् २०२३ को नेसन्स लिग फाइनलमा स्पेनसँग पेनाल्टीमा पराजित भएको क्रोएसिया अब २०२६ को विश्वकप छनोटमा केन्द्रित हुनेछ। क्रोएसियाले छनोट अभियान जुन महिनाबाट सुरु गर्नेछ, जहाँ चेक गणतन्त्र, मन्टेनेग्रो, फारो टापु र जिब्राल्टरसँग प्रतिस्पर्धा गर्नेछन्।
‘आजको रात हाम्रो लागि कठिन रह्यो। पहिलो लेगमा देखाएको प्रदर्शन दोहोर्याउन सकेनौं,’ प्रशिक्षक ज्लाट्को डालिचले भने, ‘हाम्रो अबको लक्ष्य विश्वकप छनोट पार गर्नु हो र मलाई विश्वास छ हामी त्यसमा सफल हुनेछौं।’
फ्रान्सको पुनरागमन सफल
पहिलो लेगमा २–० ले पछाडि परेपछि फ्रान्सका प्रशिक्षक डिडिएर डेस्च्याम्प्सले टोलीमा पाँच परिवर्तन गरे। बायर्न म्युनिखका उपामेकानो र ओलिसे टिममा परे।
क्रोएसियालाई सुरुदेखि नै दबाबमा राखेपनि पहिलो गोलका लागि दोस्रो हाफसम्म प्रतीक्षा गर्नुपर्यो। ५२औं मिनेटमा ओलिसेले उत्कृष्ट फ्रिकिकमार्फत फ्रान्सलाई अग्रता दिलाए।
७५औं मिनेटमा एमबाप्पेको प्रहार थोरै चुक्दा गोल हुन सकेन। तर, ८० औं मिनेटमा उनले ओलिसेलाई पास उपलब्ध गराइदिए, जसको क्रसलाई उस्मान डेम्बेलेले गोलमा परिणत गरे।
फ्रान्सले अतिरिक्त समयमा खेलको गति नियन्त्रणमा राख्यो। तर, क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले एमबाप्पेका दुई प्रहार बचाए।