काठमाडौं। रोमाञ्चक खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै साबिक विजेता स्पेनले नेसन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ।
आइतबार भएको दोस्रो लेग ३–३ को रोमाञ्चक बराबरीमा सकिएको थियो। समग्रमा ५–५ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको हो।
बार्सिलोनाका पेड्रीले निर्णायक पेनाल्टी गोल गर्दै स्पेनलाई जित दिलाए। डोनेल मालेनले पेनाल्टी मिस गरेपछि नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिन पुग्यो।
‘अतिरिक्त समय र पेनाल्टीसम्म पुगेको यो खेल साँच्चै रोमाञ्चक रह्यो। यो खेल दर्शकहरूका लागि अविस्मरणीय बन्यो,’ स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले भने।
मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। तर, नेदरल्यान्ड्सका मेम्फिस डेपेले पेनाल्टीमार्फत बराबरी गोल फर्काए।
त्यसपछि ओयार्जाबालले दोस्रो गोल गर्दै स्पेनलाई अग्रता दिलाए। तर, इयान मास्टेनले उत्कृष्ट प्रहार गर्दै खेललाई अतिरिक्त समयमा पुर्याए।
स्पेनका युवा खेलाडी लामिन यमलले उत्कृष्ट गोल गर्दै पुनः स्पेनलाई अगाडि बढाए। तर, जाभी सिमोन्सले पेनाल्टीमार्फत खेललाई ३–३ को बराबरीमा ल्याए।
पेनाल्टी सुटआउटमा दुबै टोलीले पहिलो तीन प्रहार गोलमा परिणत गरे। त्यसपछि नेदरल्यान्ड्सका नोआ लाङले प्रहार गर्दा बल बारमा लागेर बाहिरियो। नेदरल्यान्ड्सका गोलकिपर बार्ट वेरब्रुग्गेनले यमलको पेनाल्टी बचाए।
तर, अन्तिम निर्णय सातौं प्रहारमा भयो। स्पेनका गोलकिपर उनई सिमोनले मालेनको पेनाल्टी रोकिदिए। पेड्रीले आफ्नो प्रहार सहजै गोल गर्दै स्पेनलाई सेमिफाइनलमा पुर्याए। अब स्पेनले युरो २०२४ को सेमिफाइनलको पुनरावृत्ति गर्दै फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।
‘मलाई लाग्छ दुबै टोली अगाडि बढ्न योग्य थिए। तर, त्यो सम्भव थिएन। अन्त्यमा भाग्यले पनि स्पेनलाई जित दिलायो,’ नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानले भने।