काठमाडौं। जोफ्रा आर्चरले इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमै चार ओभरको स्पेलमा सबैभन्दा धेरै रन खर्चिएर खराब कीर्तिमान बनाएका छन्।
आइपिएल २०२५ को दोस्रो दिन राजस्थान रोयल्स तीव्र गतिका बलर आर्चरले सनराइजर्स हैदराबादविरुद्ध ७६ रन खर्चेका हुन्।
अन्तिम समयमा उनी आइपिएल अक्सनमा सहभागी भएका थिए। उनले आफ्नो पुरानो टोली राजस्थान रोयल्सबाट पुनरागमन गरे। तर, नयाँ सिजनको सबैभन्दा खराब सुरूआत रह्यो।
आर्चर पहिलो परिवर्तनकारी बलरको रूपमा आएका थिए। उक्त समय हैदरावादले पहिले नै चार ओभरमा ५५ रन जोडिसकेको थियो। तर, उनको आगमनसँगै एसेज प्रतिद्वन्द्वी ट्राभिस हेडले उनको पहिलो ओभरमै २३ रन बनाए, जसमा एउटा वाइड पनि समावेश थियो।
हेड आउट भएपछि पनि आर्चरको समस्या टरेन। इशान किशन, नितीशकुमार रेड्डी र हेनरिक क्लासेनले उनलाई चौका–छक्काको वर्षा गरे। उनले १० चौका र चार छक्का दिए। तर, विकेटविहीन रहे।
यससँगै आर्चर आइपिएलको सबैभन्दा महँगो स्पेल गर्ने बलरको सूचीको शीर्ष स्थानमा पुगे।
यसअघि मोहित शर्माले गत सिजन गुजरात टाइटन्सबाट दिल्ली क्यापिटल्सविरुद्ध खेल्दा ७३ रन खर्चिएका थिए।