बुटवल। विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पाखा लगाउँदै ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइज टाइब्रेकरमा ४–३ ले विजयी भएको हो।
योसँगै चर्च ब्वाइजले फाइनलमा स्थान बनाउन ‘ए’ डिभिजन लिग उपविजेता मच्छिन्द्र फुटबल क्लब र एडोर्न गडवाल स्पोर्टिङ क्लबबीचको विजेतासँग खेल्नेछ। यी दुईबीचको खेल भने मंगलबार अपरान्ह्र ४ बजे हुने तय छ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। दुवै टोलीले केही अवसर बुनेपनि गोलमा परिणत गर्न सकेनन्। त्यसैले प्रतियोगिताको नियमअनुसार विजेताको टुंगो सिधैं टाइब्रेकरमार्फत गरिएको हो।
टाइब्रेकरमा चर्च ब्वाइजले बाजी मार्यो। चर्च ब्वाइजका अमन लामा, चेतन चौधरी, अर्मान्ड बेएडुम, प्रवेश कुँवरले टाइब्रेकरमा गोल गरे।
कप्तान सेर्गे डिकाको प्रहारको प्रहार पुलिसका गोलकिपर अमित टमाटाले बचाए। उनले दोस्रो बार च्याप्दै प्रहार गरेको बललाई टमाटाले सही जर्जमेन्टसहित उत्कृष्ट ड्राइभ गर्दै विफल बनाए।
यस्तै, आकाश राईको प्रहारलाई पनि अमितले बिट भइसकेको अवस्थामा राइट फुटको प्रयोग गर्दै बचाए।
पुलिसका प्रज्ज्वल चौधरी, गोलकिपर अमित टमाटा र अरुण गाहाले मात्रै टाइब्रेकरको सदुपयोग गर्न सके। विवेक पाण्डेको प्रहार पोलमा लागेर फर्कियो। उनी रुपन्देहीका उत्पादन हुन्।
तर, घरेलु मैदानमा खेल्दा उनले निराशाजनक प्रदर्शन गरे। मनबहादुर परियारको प्रहार बाहिरिइयो भने ओसेन्द्र कटुवालको प्रहार माथिल्लो बारमा लाग्न पुग्यो।
प्रतियोगितामा सोमबार पनि एक मात्रै खेल हुनेछ। तेस्रो क्वार्टरफाइनलमा संकटा फुटबल क्लब, काठमाडौं र जर्जियन एफसी कालिङपोङ, भारत भिड्नेछन्।
यी दुईको विजेताले फाइनल प्रवेश गर्न विभागीय टोली एपिएफसँग प्रतितिस्पर्धा गर्नेछ। पहिलो क्वार्टरफाइनलमा एपिएफले आयोजक करेन्ट रुपन्देही–११ लाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण खेलपाटी टिभ (युट्युब) मा भइरहेको छ।