काठमाडौं। इशान किसनको आक्रामक शतकसँगै सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिए) मा राजस्थान रोयल्सलाई २८७ रनको विशाल लक्ष्य दिएको छ।
राजिव गान्धी इन्टरनेसनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २८६ रन बनाएको हो।
हैदरावादले आइपिएल इतिहासमा दिएको यो सबैभन्दा दोस्रो ठूलो लक्ष्य हो। गत वर्ष पनि हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई २८८ रनको कीर्तिमानी लक्ष्य दिएको थियो।
हैदरावादका किसनले अविजित रहँदै सर्वाधिक १०६ रन बनाए। ४७ बल खेलेका उनले नौ चौका र ६ छक्का प्रहार गरे। आइपिएलमा उनको यो पहिलो शतक हो। उनी यसै सिजन मुम्बई इन्डियन्सबाट हैदरावाद पुगेका हुन्।
ट्राभिस हेडले ३१ बलमा नौ चौका र तीन छक्कासहित ६७ रन बनाए। हेड र किसनले दोस्रो विकेटका लागि ३९ बलमा ८५ रनको विशाल साझेदारी गरेका थिए।
हेड ९.३ ओभरमा तुषार देशपाण्डेको बलमा शिमरन हेटमायरबाट क्याच भए। त्यसपछि किसनले नितिशकुमार रेड्डीसँग २९ बलमा ७२ रनको अर्को साझेदारी गरे। नितिश ३० रनमा क्याच भए।
ओपनर अभिषेक शर्मा २४ र हेनरिक क्यालसेन ३४ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
राजस्थानका तुषारले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४४ रन खर्चिए। महेक थक्शेनाले दुई र सन्दीप शर्माले एक विकेट लिए।