काठमाडौं। प्रधानमन्त्री कपबाट बाहिरिइसकेको सुदूरपश्चिम प्रदेशले कोशीमाथि जित निकालेको छ।
आइतबार सम्पन्न खेलमा सुदूर ३१ रनले विजयी भएको हो। यो नतिजासँगै एक खेल खेल्न बाँकी रहेको सुदूरले ६ अंक पुर्याएको छ। कोशीको समान खेलबाट दुई अंक छ।
सुदूरले प्रस्तुत गरेको २४३ रनको लक्ष्य पछ्याएको कोशीले ४५.१ ओभरमा सबै विकेट गुमाउँदै २११ रन बनाएको हो।
कोशीका सकिब हकले सर्वाधिक ६२ रन बनाए। ६६ बल खेलेका उनले ११ चौका प्रहार गरे। समीर कार्की र कप्तान अंकित सुवेदीले समान ३८ रन जोड्दा आशिष भट्टराई ३६ रनमा आउट भए।
अन्यको प्रदर्शन भने चित्तबुझ्दो रहेन। सुदूरका सौर्य श्रेष्ठले सर्वाधिक तीन विकेट लिए। नौ ओभर बलिङ गरेका उनले एक मेडनसहित ४५ रन खर्चिए। भोजराज भट्टले दुई विकेट लिए।