काठमाडौं । नेपाल पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको वरियतामा समावेश भएको छ ।
घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २-१ को जित निकालेपछि नेपाल आईसीसीको वरियतामा परेको हो । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई ४ विकेटले हराउँदै नेपालले नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको थियो ।
युएईविरुद्धको सिरिज जितपछि नेपालले वरियताको १५ औं स्थान हासिल गरेको छ । आईसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि ६ खेल खेलेको नेपालले १५२ अंक पाएको छ । युएई भने २६३ अंकसहित १४ औं स्थानमा छ ।
वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन् ।
नेपालले डेब्यु एकदिवसीय भने नेदरल्याण्डसंग खेलेको थियो । जुन सिरिज १-१ को बराबरी भएको थियो ।
नेपालले गत मार्चबाट चार वर्षको लागि एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो । जिम्बावेमा सम्पन्न विश्वकप छनोटमा साँतौ हुँदै नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो ।
तस्विर:रमण सिवाकोटी