काठमाडौं। एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनसँगै नर्वेले विश्वकप छनोट अभियानमा सकारात्मक सुरूआत गरेको छ। शनिबार मोल्डोभालाई ५–० ले पराजित गर्दै नर्वेले प्रभावशाली जित हासिल गरेको हो।
नर्वेले अन्तिम पटक सन् १९९८ मा विश्वकप खेलेको थियो, जुन हालान्ड जन्मनुभन्दा दुई वर्षअघि हो।
हालान्डको नेतृत्वमा रहेको टोलीमा आर्सनलका मिडफिल्डर मार्टिन ओडेगार्ड पनि छन्। नर्वेले आगामी २०२६ विश्वकपका लागि उच्च अपेक्षासहित छनोट खेलिरहेको छ। अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने उक्त विश्वकपमा स्थान बनाउन नर्वेले उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
नर्वे समूह 'आई' को प्रमुख दाबेदार मानिएको छ। यस समूहकै अर्को खेलमा इस्राएलले इस्टोनियालाई २–१ ले पराजित गर्यो।
हालान्डले मोल्डोभाविरुद्ध नर्वेको दोस्रो गोल गर्दै आफ्नो राष्ट्रिय टोलीका लागि ४० खेलमा ३९ गोलको प्रभावशाली कीर्तिमान बनाए। डर्टमन्डका डिफेन्डर जुलियन रायर्सनले खेलको पाँचौं मिनेटमा पहिलो गोल गरे। हालान्डले २३औं मिनेटमा अग्रता दोब्बर बनाए। थेलो आसगार्डले तेस्रो गोल गर्दा ओडेगार्डको पासमा एलेक्ज्यान्डर सोरलोथले पहिलो हाफकै अन्त्यमा चौथो गोल थपे। दोस्रो हाफमा सब्स्टिच्युट आरोन डोनुमले पाँचौं गोल गर्दै सानदार जित दिलाए।
हालान्डले म्यानचेस्टर सिटीबाट च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप जितिसकेका छन्। तर, उनले आफ्नो देशलाई कुनै ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पुर्याउन सकेका छैनन्। चोटका कारण २०२२ विश्वकप छनोटका केही खेल गुमाएका हालान्डको टिम युरो २०२४ छनोटमा पनि असफल रह्यो। स्पेन र स्कटल्यान्डपछि नर्वे समूहको तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो।