पोखरा। तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल)आगामी चैत १६ देखि वैशाख १३ सम्म हुँदैछ। सोही प्रतियोगिताको ट्रफी शनिबार पर्यटकीय राजधानी पोखरामा अनावरण एवं प्रदर्शन गरिएको छ।
पोखरा थन्डर्स एफसीको व्यवस्थापनमा पोखराका ५ ठाउँमा ट्रफी प्रदर्शन गरिएको हो।
पुम्दीकोट शिव मन्दिर, शान्ति स्तूप, पोखरा रंगशाला, बेगनास ताल र सृजनाचोकस्थित एनसेल सेन्टरमा ट्रफी प्रदर्शन गरिएको पोखरा थन्डर्सका व्यवस्थापक घनश्याम थापाले जानकारी दिए।
उनकाअनुसार फेवाताल किनार र विन्ध्यावासिनी मन्दिरमा आइतबार बिहान ट्रफी प्रदर्शन गरिने छ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रर्दशनमा लैजानुअघि ट्रफी अनावरण गरेका थिए।
धनगढी, बुटवल, झापा, चितवनमा अनावरण एवं प्रदर्शनपछि ट्रफी पोखरा ल्याइएको हो। पोखरापछि ललितपुर र काठमाडौंमा ट्रफी प्रदर्शन गरिने आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ।