काठमाडौं। ब्राजिलका गोलकिपर एलिसन बेकर टाउकोमा चोट लागेपछि आफ्नै क्लब लिभरपुल फर्किएका छन्। ब्राजिल फुटबल महासंघ (सिबिएफ) ले शुक्रबार यसबारे जानकारी दिएको हो।
एलिसन २०२६ विश्वकप छनोटअन्तर्गत बिहीबार भएको ब्राजिल र कोलम्बिया बीचको खेलमा घाइते भएका थिए। ब्राजिलको २–१ को जित पछि उनी टोलीबाट बाहिरिएका हुन्। खेलको ७८औं मिनेटमा कोलम्बियाका डिफेन्डर डेभिन्सन सान्चेजसँग ठोक्किएर उनले चोट बोकेका थिए।
फिफाको कन्कसन (मस्तिष्क आघात) प्रोटोकलअनुसार एलिसनले केही समय विश्राम लिनुपर्नेछ। योसँगै उनले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन्।
‘एलिसनले टाउकोमा चोट बोकेका छन्। तर, अहिले उनी ठिक छन् र कुनै गम्भीर समस्या देखिएको छैन। तर, फिफाको कन्कसन नियमअनुसार रिकभर हुन लिभरपुल फर्किनुपर्छ,’ सिबिएफले भनेको छ।
एलिसन बाहिरिनुले लिभरपुलका प्रशिक्षक आर्ने स्लटका लागि झनै समस्या बनेको छ। क्लबका ट्रेन्ट अलेक्ज्यान्डर–अर्नोल्ड, जो गोमेज र कोनोर ब्राडली पहिल्यै चोटग्रस्त छन्।
यसैबीच लिभरपुलका मिडफिल्डर रायन ग्राभेनबर्खले पनि फिटनेस समस्याका कारण नेदरल्यान्ड टोलीबाट नाम फिर्ता लिएका छन्।
लिभरपुल इङ्लिस प्रिमियर लिग मा १२ अंकको अग्रतासहित शीर्ष स्थानमा छ। लिभरपुलको अर्को खेल एप्रिल २ मा हुनेछ। टोलीले आफ्ना स्थानीय प्रतिद्वन्द्वी एभर्टनलाई घरेलु मैदानमा स्वागत गर्नेछन्।