एजेन्सी । एसियाली पावर हाउस जापान युएईमा जारी एसिया कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनलमा इरानलाई ३-० गोल अन्तरले पराजित गर्दै जापान उपाधि नजिक पुगेको हो ।
जापानलाई जित दिलाउन युया ओसाकाले दुई गोल गरे । यस्तै जेन्की हरागुचीले एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा ओसाकाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । खेलको ६७ औं मिनेटमा पाएको पेनाल्टीमा ओसाकाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा जेन्कीले गोल गर्दै जापानलाई ३-० को जित दिलाए ।
अब ४ पटकको च्याम्पियन जापानले उपाधिका लागि आयोजक युएई र कतारबीचको विजेतासंग खेल्ने छ ।