विराटनगर । गाईघाटको फ्युजन फुटबल क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
विराटनगरको जुट मिल खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइलनमा फ्युजनले सुनसरी इटहरीको टिएफसी तालतलैयालाई ५–१ ले पराजित गरेको हो । उपाधि रक्षाको लागि उदयपुरले अब शुक्रबार हुने दोस्रो सेमिफाइलनमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लब र लेटाङ फुटबल क्बलको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
जितको लागि उदयपुरका रितेस तामाङले दुई तथा सुनील खड्का, दीपक मगर र दिवस राईले समान एक गोल गरे । इटहरीको तर्फबाट सुजन मगरले सान्तवना गोल फर्काए ।
खेल सुरु भएको ९ औं मिनेटमा उदयपुरका रितेस तामाङ्गले गोल गर्दै टिमलाई अग्रता दिलाए । दिपक मगरले निकालेको क्रस पासलाई रितेसले जाली चुमाए । पहिलो हाफसम्म उदयपुर १–० गोलले अग्रता लियो । दोस्रो हाफपछि ४५ औं मिनेटमा इटहरीका सुजन मगरले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी ल्याए । इटहरीका खेलाडी अभिषेक कालिकोटीलाई डिबक्स भित्र फल खेलेर लडाएपछि रेफ्री अनिल खवासले पेलान्टी दिए । पेलान्टीमा इटहरीका सुजनले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । त्यसपछि उदयपुरले खेलको रणनीति बदल्दै आक्रमक खेल पस्कियो । खेलको ६१ औं मिनेटमा उदयपुरका रितेस तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए । दिपकले निकालेको पासलाई रितेसले गोलमा परिणत गरे । दोस्रो गोल गरेलगत्तै उदयपुरका सुनिल खड्काले ६२ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए । दोस्रो हाफपछि इटहरीलाई दवाबमा राखेको उदयपुरले अतिरिक्त समयमा थप दुई गोल गर्यो । दिपक मगर र दिवस राईले खेलको अतिरक्ति समयमा समान १–१ गोल गर्दै टिमको जित सुनिश्चत गरे । अतिरिक्त समयमा सनम राईले पास निकालिदिएका थिए । प्रतियोगितामा दुई गोल गर्ने उदयपुरका रितेस तामाङ्ग म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार रुपैयाँ पाए ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजना भएको प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँ र उपबिजेताले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल आइतबार हुने मिल्स गोल्डकप फुटबल टष्ट्रका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए । प्रतियोगिताका भारतको एक टिमसहित कोशी प्रदेशका ८ वटा टिमको सहभागिता रहेको थियो ।