काठमाडौं। स्पेनिस राष्ट्रिय टोलीका १७ वर्षीय स्टार फरवार्ड लामिन यमल पहिलो पटक इस्लाम धर्मको पवित्र महिना रमजान पालन गर्दैछन्।
त्यसैले स्पेन आफ्नो नेसन्स लिगको क्वार्टरफाइनल खेलको तयारी गरिरहेका बेला कतै टोलीलाई असर गर्ने त होइन? भन्ने प्रश्न पनि उस्तै छ।
तर, स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले रमजान पालना टिमका लागि कुनै समस्या नभएको बताएका छन्। ‘हाम्रो लागि यो बिल्कुलै सामान्य कुरा हो। उनी आफ्ना धार्मिक नियम पालना गरिरहेका छन्। उनले आफ्नो क्लब बार्सिलोनामा पनि यस्तै गरिरहेका छन्,’ उनले भने।
नेसन्स लिगको वर्तमान च्याम्पियन स्पेनले नेदरल्यान्ड्सविरुद्ध दुई लेगको प्रतिस्पर्धा खेल्नेछ। पहिलो खेल बिहीबार रोटरड्याममा हुनेछ भने दोस्रो लेग आइतबार भालेन्सियामा खेलिनेछ।
उक्त लेगका लागि मेडिकल टिम र पोषणविद्ले उनलाई सही खानपान र पानी पिउने निर्देशन दिइरहेको फुएन्तेले जानकारी दिए। ‘हामी सधैं सबै धार्मिक विश्वासहरूको सम्मान गर्छौं। उनी खेल्नका लागि पूर्ण रूपमा तयार छन्,’ उनले भने।
६३ वर्षीय प्रशिक्षकले यो आफूले पहिलो पटक अनुभव गरिरहेको परिस्थिती भएको स्वीकारे। ‘यसअघि मैले यस्तो अवस्था कहिल्यै सामना गरेको थिइनँ, तर हामी सधैं जस्तै निरन्तरता दिन्छौं,’ उनले भने।