काठमाडौं। अर्जेन्टिनाका स्ट्राइकर लाउटारो मार्टिनेजले उरुग्वे र ब्राजिलविरुद्धको आगामी विश्वकप छनोट खेल गुमाउने भएका छन्।
अर्जेन्टिनियन फुटबल संघ (एएफए) ले हमस्ट्रिङ चोटका कारण उनले उक्त दुई खेल गुमाउने पुष्टि गरेको हो।
इन्टर मिलानका स्ट्राइकर मार्टिनेजले गत हप्ता फेयनोर्डविरुद्ध च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग खेलमा मांसपेशी असहजता महसुस गरेका थिए। उनी बेन्चमै बसेका थिए।
२७ वर्षीय मार्टिनेजले आइतबार सिरी एमा इन्टर मिलानको अटलान्टाविरुद्ध २-० को जितमा गोल गरेका थिए। त्यसपछि उनी लिओनेल स्कालोनीको टोलीमा समावेश भए। तर, अहिले उनको बायाँ खुट्टाको हमस्ट्रिङमा चोट देखिएको हो। त्यसैले उनी अर्जेन्टिनाका लागि उपलब्ध रहने छैनन्।
मार्टिनेज अर्जेन्टिनाका अन्य प्रमुख अनुपस्थित खेलाडीहरूको सूचीमा थपिएका छन्। यसअघि नै कप्तान लिओनल मेसी मांसपेशीको चोटका कारण टिम बाहिर छन्। गोन्जालो मोन्तिएल, जियोभानी लो सेल्सो र पाउलो डिबालासमेत टिममा हुने छैनन्।
१२ खेलपछि अर्जेन्टिना २५ अंकसहित कोनमेबल विश्वकप छनोटको शीर्ष स्थानमा छ। विश्वकप र कोपा अमेरिका विजेता अर्जेन्टिनाले शुक्रबार दोस्रो स्थानको उरुग्वेविरुद्ध खेल्ने छ भने चार दिनपछि पाँचौं स्थानको ब्राजिललाई ब्युनस आयर्समा स्वागत गर्नेछ।