काठमाडौं। अर्जेन्टिना कप्तान लिओनल मेसी र ब्राजिलियन स्टार नेयमारको अनुपस्थितिमा दक्षिण अमेरिकी विश्वकप छनोटका दुई महत्त्वपूर्ण खेल हुँदैछन्।
यी महत्त्वपूर्ण खेलअघि अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनी र ब्राजिलका प्रशिक्षक डोरिभाल जुनियर आफ्ना स्टार खेलाडीको विकल्प खोज्ने प्रयासमा छन्।
कतार विश्वकप २०२२ विजेता अर्जेन्टिना १२ खेलपछि २५ अंकसहित शीर्ष स्थानमा छ। अब केही दिनमै अर्जेन्टिना २०२६ को विश्वकपका लागि छनोट हुन सक्छ। अर्जेन्टिनाले शुक्रबार दोस्रो स्थानको उरुग्वेविरुद्ध खेल्नेछ।
त्यसपछि अर्जेन्टिनाले मंगलबार ब्युनस आयर्समा ब्राजिलको सामना गर्नेछ। पछिल्लोपल्ट यी दुई शक्तिशाली टिम भिड्दा अर्जेन्टिनाले रियो डे जेनेरियोस्थित माराकाना स्टेडियममा १–० को जित निकालेको थियो।
यसै हप्ताको अन्य खेलमा पेरुले बोलिभियासँग, पाराग्वेले चिलीविरुद्ध र इक्वेडरले भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछन्। दक्षिण अमेरिकाबाट शीर्ष ६ टोलीले अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपमा सोझै स्थान बनाउनेछन्।
सातौं स्थानको टोलीले अन्तर्राष्ट्रिय प्लेअफ खेल्ने मौका पाउनेछ। ब्राजिलले यस महिना नै विश्वकपमा स्थान सुरक्षित गर्न सक्नेछ या सातौं स्थानमा झर्नेछ। त्यसैले प्रशिक्षक जुनियर दबाबमा छन्।
नेयमारको अनुपस्थितिमा उनले रोड्रिगो र भिनिसियस जुनियरसँग साभिन्होलाई आक्रमणको जिम्मेवारी दिएका छन्। राफिन्हालाई मिडफिल्डमा खेलाउने प्रयास गरेका छन्।
तर, बुधबार ब्राजिलियन सञ्चारमाध्यमहरूका अनुसार जोआओ पेद्रोलाई अग्रपंक्तिमा परीक्षण गरिएको छ, जसमा भिनिसियस जुनियर उनको जोडी बन्नेछन्।
यदि यी दुवै रणनीति प्रभावकारी नदेखिए प्रशिक्षक जुनियरले राफिन्हालाई विङमा सार्न सक्छन् वा किशोर प्रतीभा इस्टेभाओलाई मौका दिन सक्छन्।
‘म सुरुदेखि नै खेलाडीहरूलाई उनीहरूको क्लबमा खेल्ने स्थानमा खेलाउन चाहन्छु। तर, विपक्षी टोलीअनुसार रणनीति परिवर्तन गर्छु,’ जुनियरले बुधबार पत्रकार सम्मेलनमा भने।
यदि कोलम्बियाविरुद्ध खेल्दा केही खेलाडीहरू पहेंलो कार्ड पाएमा अर्जेन्टिनाविरुद्ध खेल्न पाउने छैनन्। त्यस्ता खेलाडीमा डानिलो, गाब्रिएल मगाल्हाएस, आन्द्रे, ब्रुनो गुइमारायस, मथियस कुन्हा, राफिन्हा र रोड्रिगो छन्।
ब्राजिलले पछिल्ला दुई विश्वकप छनोट खेलमा भेनेजुएला र उरुग्वेविरुद्ध बराबरी खेलेको थियो। प्रशिक्षक जुनियरले टिम पुनःनिर्माणको प्रक्रियामा रहेको बताएका छन्।
उरुग्वे भर्सेस अर्जेन्टिना
मेसी मांसपेशीको चोटका कारण अनुपस्थित भएपछि प्रशिक्षक स्कालोनीले जुलियन आल्भारेज र लाउटारो मार्टिनेजलाई आक्रमणको जिम्मेवारी सुम्पिने योजना बनाएका थिए।
तर, बुधबार इन्टर मिलानका स्ट्राइकर मार्टिनेज पनि मांसपेशी थकानका कारण बाहिरिएका छन्। अर्जेन्टिनाले यदि जित निकाल्न सकेमा दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने पहिलो टोली बन्नेछ।
आल्भारेजले यो सिजन एट्लेटिको मड्रिडका लागि २३ गोल गरेका छन्। तर, लाउटारोको अनुपस्थितिमा उनी एक्लै अग्रपंक्तिमा रहने सम्भावना छ। मिडफिल्डर थियागो आल्माडा मेसीको भूमिकामा देखिन सक्नेछन्।
मेसीले गत आइतबार अमेरिकी सकर लिग (एमएलएस)मा इन्टर मियामीका लागि एटलान्टा युनाइटेडविरुद्ध खेल्दा बायाँ थाइको मांशपेशीमा चोट बोकेका थिए।
अर्जेन्टिनाका केही प्रमुख खेलाडीले उरुग्वेविरुद्ध सावधानी अपनाउनुपर्नेछ, किनभने पहेंलो कार्ड पाए ब्राजिलविरुद्ध खेल्न पाउने छैनन्।
यी खेलाडीहरूमा डिफेन्डर निकोलस ओटामेन्डी, मिडफिल्डरहरू लिआन्ड्रो पारेडेस, एन्जो फर्नान्डेज, रोड्रिगो डि पउल र एलेक्सिस म्याक एलिस्टर छन्।
यस अतिरिक्त अर्जेन्टिनाले शनिबार ब्युनस आयर्सको हुराकान स्टेडियममा एक स्थानीय यु–२० टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। यो खेल दुई हप्ताअघि आँधीबेहरीका कारण क्षति पुगेको बाहिया ब्लांका क्षेत्रको एक अस्पताल पुनर्निर्माणका लागि कोष जुटाउन आयोजना गरिँदै छ।
‘अन्तर्राष्ट्रिय ब्रेकमा केही सकारात्मक काम गर्न आवश्यक थियो। यो सही समय हो,’ प्रशिक्षक स्कालोनीले भने।