काठमाडौं। सन् २०२३ को जुन महिनामा अस्ट्रियाविरुद्धको खेलमा बेल्जियम राष्ट्रिय टोलीको कप्तान नबनाइएपछि गोलकिपर थिबाउट कोर्टुवा असन्तुष्ट बनेका थिए।
त्यसपछि राष्ट्रिय टोलीबाट अलग भए। बेल्जियम राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक डोमेनिको टेडेस्कोले त्यतिखेर आफूलाई अपमानित गरेको महसुस भएको उनले बताएका थिए।
तर, ३२ वर्षीय रियल म्याड्रिडका नम्बर वन गोलकिपर कोर्टुवा नयाँ प्रशिक्षक रुडी गार्सियाको पहिलो टोलीमा परेपछि आगामी बिहीबार युक्रेनविरुद्धको नेसन्स लिग प्लेअफ खेलमा पुनः राष्ट्रिय टोलीका लागि खेल्न तयार छन्।
‘मेरो बारेमा धेरै गलत कुराहरू फैलाइएका थिए। तर, प्रशिक्षण केन्द्रमा आएर टेडेस्कोसँगको विवादबारे खेलाडीहरूकै अगाडि स्पष्टिकरण दिएँ। खेलाडीहरूसँग खुलेर कुरा गर्न पाउँदा राम्रो पनि लाग्यो,’ उनले भने।
सन् २०२३ को सिजन उनी कठिन चोटबाट गुज्रिए थिए। त्यसैले आफू मानसिक रूपमा कठिन समयमा रहेको उनले स्वीकार गरेका छन्।
‘अब यो विषयमा धेरै कुरा नगरौं। म हल्का महसुस गर्दैछु। प्रशिक्षकसँग केही समस्याहरू थिए,’ उनले भने। १०२ पटक राष्ट्रिय टोलीबाट खेलेका कोर्टुवाले टेडेस्कोले आफूलाई सम्मान नगरेको बताएका छन्।
‘मैले कुनै सम्मानको अनुभूति गरिनँ। प्रशिक्षक कहिल्यै मेरो सम्पर्कमा आएनन्। १६ वर्षको खेलजीवनमा यस्तो मैले कहिल्यै देखेको थिइनँ। त्यस समयमा म विस्फोट हुन पुगें। किनभने मलाई केही पनि बुझाइएन,’ उनले भने।
कतार विश्वकपमा बेल्जियम समूह चरणबाटै बाहिरिनुपरेको थियो। उक्त प्रतियोगितामा टोलीभित्रको अनबन प्रमुख कारण भएको बताइएको थियो। त्यसपछि प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट राजीनामा दिएका थिए।
सन् २०१८ देखि २०२१ सम्म विश्व वरीयतामा शीर्ष स्थानमा रहेको बेल्जियम टोलीका अधिकांश खेलाडी अहिले सन्न्यास लिइसकेका छन्, जसमा पूर्व कप्तान इडेन हाजार्ड पनि छन्।
युरो २०२४ को अन्तिम १६ चरणमा बेल्जियम फ्रान्ससँग पराजित भएको थियो। उक्त खेलमा कोर्टुवा अनुपस्थित रहेकाले कोएन कास्टिल्स गोलकिपरको भूमिकामा सम्हालेका थिए।
‘यो विवादले विश्वभरमा चर्चा पायो र यसले टोलीलाई असर गर्यो। त्यसैले अब सबै कुरा स्पष्ट पार्नु राम्रो हो,’ मिडफिल्डर योरी टिलेमान्सले भने।
फ्रान्सेली प्रशिक्षक रुडी गार्सियाले सन् २०२६ मा संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकपसम्मका लागि बेल्जियम टोलीको नेतृत्व गर्नेछन्। तर, उनको पहिलो लक्ष्य बेल्जियमलाई नेसन्स लिगको शीर्ष डिभिजनमा राख्नु रहेको छ।
गार्सियाले पछिल्लो सिजन इटालियन क्लब नापोलीमा एक निराशाजनक कार्यकाल बिताएपछि बेल्जियम राष्ट्रिय टोली सम्हाल्न लागेका हुन्।