काठमाडौं। नेपालले भारतमा हुने साफ यु–१९ च्याम्पियनसिप खेल्न ५८ जना खेलाडीबाट अन्तिम टोली बनाउने भएको छ।
मुख्यप्रशिक्षक उर्जन श्रेष्ठले बुधबार अन्तिम २३ सदस्सीय टोली बनाउन ५८ खेलाडीलाई छनोटमा बोलाएका हुन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने प्रतियोगिता ९ देखि १८ मेसम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुने तय छ।
नेपालले श्रीलंका मे ११ मा खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ। त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतको सामना गर्नेछ। समूह ‘ए’ मा नेपाल र भारतसहित श्रीलंका छ। अर्को समूहमा बंगलादेश, माल्दिभ्स र भुटान छन्।
प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सले बंगलादेशलाई चुनौती प्रस्तुत गर्नेछ। हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
उर्जनले गोलकिपर भक्तबहादुर परियार, फरवार्ड विज्ञान खड्का, सुजन डंगोल, सुवास ठकुरी बमलगायत ५८ जना खेलाडीलाई छनोटमा बोलाएका हुन्।
छनोटमा बोलाइएको खेलाडीलाई आइतबार बिहान ८ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा आवश्यक फुटबल सामाग्रीसहित सर्म्पक गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनुरोध गरेको छ।