काठमाडौं। बार्सिलोनाका मिडफिल्डर मार्क कासाडो दुई महिना मैदान बाहिर रहने भएका छन्। गत सप्ताहन्त एट्लेटिको मड्रिडविरुद्धको स्पेनिस ला लिगा जितका क्रममा उनले घुँडाको लिगामेन्टको चोट बोकेका थिए।
२१ वर्षीय कासाडोले हान्सी फ्लिकको टोलीबाट यो सिजन सबै प्रतियोगितामा गरी ३७ खेल खेलिसकेका छन्। उनले ला लिगामा २४ खेल खेलेका छन्।
स्पेनको नेसन्स लिग टोलीमा रहेका कासाडो चोटका कारण बाहिरिएका छन्। उनले राष्ट्रिय टोलीबाट नाम फिर्ता लिएका हुन्।
एट्लेटिकोविरुद्ध बार्सिलोनाको ४–२ को नाटकीय जितको क्रममा कासाडो ६७औं मिनेटमा मैदानबाट बाहिरिएका थिए। ‘उनको दाहिने घुँडाको लेटरल कोलेटरल लिगामेन्ट आंशिक रूपमा चुँडिएको पुष्टि भएको छ,’ बार्सिलोनाले विज्ञप्तिमा जनाएको छ,‘उनको उपचार परम्परागत तरिकाले हुनेछ, जसका कारण उनी करिब दुई महिना खेल्न सक्ने छैनन्।’
बार्सिलोना ला लिगाको शीर्ष स्थानमा छ, गोल अन्तरको आधारमा रियल मड्रिडलाई पछि पार्दै। एट्लेटिको चार अंकले पछाडि छ। तर, बार्सिलोनाले एक खेल कम खेलेको छ।
बार्सिलोना अझै सम्भावित ट्रेबल (ला लिगा, कोपा डेल रे, च्याम्पियन्स लिग) जित्ने दौडमा छ। कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा एट्लेटिकोविरुद्ध खेल ४–४ को बराबरीमा सकिएको छ। दोस्रो लेग अझै खेल्न बाँकी छ। साथै आगामी महिना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोनाले बोरुसिया डर्टमुन्डको सामना गर्नेछ।