काठमाडौं। डेनमार्कका मिडफिल्डर क्रिश्चियन एरिक्सनले म्यानचेस्टर युनाइटेडबाट यस सिजन २७ खेल खेलेका छन्।
गत वर्ष रुबेन आमोरिमको आगमनपछि टोलीमा उनले कहिलेकाहीँ मात्र अवसर पाउँदै आएका छन्। यस्तोमा उनी निराश देखिएका छन्।
त्यसैले क्लब छाड्ने मनसायमा छन् उनी। तर, के ३२ वर्षीय एरिक्सन नयाँ चुनौतीका लागि तयार छन् त? ‘हो म नयाँ अवसर खोज्न तयार छु। यो मेरो लागि उपयुक्त छ,’ उनले पोर्चुगलविरुद्ध डेनमार्कको नेसन्स लिग क्वार्टरफाइनलअघि पत्रकारहरूसँग भने।
उनको सम्झौता आगामी जुनमा समाप्त हुँदैछ। तर, युनाइटेडले नयाँ सम्झौताबारे कुनै छलफल नगरेको उनले बताए। ‘त्यसैले हाम्रो सहकार्य समाप्त हुँदैछ भन्ने मलाई लाग्छ। मैले यसलाई त्यही रूपमा बुझेको छु,’ उनले भने।
उनले थपे, ‘अब म नयाँ प्रस्तावको प्रतीक्षा गर्नेछु। हतारमा कुनै निर्णय लिने छैन। तर, यदि सही अवसर आयो भने म लिनेछु।’
युरो २०२० को फिनल्यान्डविरुद्ध खेल्ने क्रममा हृदयाघातको सिकार भएका एरिक्सनले डिसेम्बरयता प्रिमियर लिगमा पहिलो पटक लगातार दुई खेल खेलेका छन्। तर, उनले इङ्ल्यान्डमै बस्ने कुनै योजना नरहेको स्पष्ट पारे।
‘मेरो मनसाय इङ्ल्यान्डमै रहने होइन,’ उनले थपे। एरिक्सन सन् २०२२ मा ब्रेन्टफोर्डमा छोटो समय बिताएपछि युनाइटेडमा आएका थिए।
यसअघि उनले इन्टर मिलानबाट खेलेका थिए। तर, इटालीको स्वास्थ्य नियमअनुसार हृदयमा इम्प्लान्ट गरिएको कार्डियोभर्टर डिफिब्रिलेटर (आइसिडी) भएका खेलाडी खेल्न नपाउने भएकाले उनले क्लब छाड्नुपरेको थियो।
युनाइटेडका लागि एरिक्सनले अहिलेसम्म ९९ खेल खेलेका छन् र सात गोल गरेका छन्।