काठमाडौं। झापा फुटबल क्लबलाई पराजित गर्दै मध्यपुर युथ एसोसिएनसनले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो सफलता हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा मध्यपुर २–० ले विजयी भएको हो।
यो नतिजासँगै मध्यपुरले दुई खेलबाट चार अंक पुर्याएको छ। झापाको भने यो लगातार दोस्रो हार हो। मध्यपुरलाई जित दिलाउन सजिन थापामगरले एक गोल गरे। अर्को गोल भने उपहार पाएको थियो।
३१औं मिनेटमा मध्यपुरले सुरुआती अग्रता लिएको थियो। कप्तान राहुल खड्काले रिबाउन्डमार्फत आएको बललाई झापाको पेनाल्टी बक्सबाट प्रहार गरेका थिए। उक्त बललाई बचाउने प्रयास गर्दा पुजन राईलाई ‘डिफ्लेक्ट’ हुँदै गोलमा परिणत भयो।
दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सजिनले अर्को गोल थपे। विज्ञान खड्काले शान्तिराम बस्नेतलाई बिट गर्दै उपलब्ध गराएको बललाई झापाका डिफेन्डरले क्लियर गर्ने प्रयास गरेका थिए।
तर, राम्रोसँग क्लियर हुन नपाएको बललाई सजिनले पेनाल्टीबक्सको लाइनबाट पहिलो पोस्टमा प्रहार गरे। उनको प्रहारलाई गोलकिपर टेकराज लिम्बूले बचाउन सकेनन्। योसँगै मध्यपुरले २–० को सहज जित हात पार्यो।