काठमाडौं। नेपाली यु–१९ राष्ट्रिय टोलीको जिम्मेवारी पुन: उर्जन श्रेष्ठले पाएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार उनलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
उर्जनले यसअघि घरेलु मैदानमै भएको साफ यु–२० च्याम्पियनसिपमा नेपाली टोली सम्हालेका थिए। तर, नेपाल फाइनलमा बंगलादेशसँग ४–१ को हार बेहोरेको थियो। यसपल्ट उक्त प्रतियोगिता साफ यु–१९ को नामले आयोजना हुँदैछ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने प्रतियोगिता ९ देखि १८ मेसम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुने तय छ।
नेपालले श्रीलंका मे ११ मा खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ। त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतको सामना गर्नेछ। समूह ‘ए’ मा नेपाल र भारतसहित श्रीलंका छ। अर्को समूहमा बंगलादेश, माल्दिभ्स र भुटान छन्।
प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सले बंगलादेशलाई चुनौती प्रस्तुत गर्नेछ। हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।