काठमाडौं। स्पेनका मिडफिल्डर मार्क कासाडो र सेन्ट्रल डिफेन्डर इनिगो मार्टिनेजले नेसन्स लिगको क्वार्टरफाइनल गुमाउने भएका छन्।
गत संस्करणको विजेता स्पेनले बिहीबार नेदरल्यान्ड्ससँग खेल्दैछ भने आइतबार घरेलु मैदानमा पुनः सामना गर्नेछ।
कासाडोले आइतबार ला लिगामा भएको बार्सिलोना र एट्लेटिको मड्रिडबीचको खेलमा (४–२) घुँडामा चोट बोकेका थिए। बार्सिलोनाले विज्ञप्ति जारी गर्दै उनको लिगामेन्टमा समस्या देखिएको बताएको छ। क्लबले थप परीक्षण गरेपछि उपचार प्रक्रिया तय गरिने जनाएको छ।
स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले कासाडोको स्थानमा बायर लेभरकुजेनका एलेइक्स गार्सियालाई टोलीमा समावेश गरेका छन्।
त्यस्तै, बार्सिलोनाका अर्का डिफेन्डर इनिगोको पनि दायाँ घुँडामा सुन्निने समस्या देखिएको छ। उनी एट्लेटिकोविरुद्धको खेल पूरा गर्न सफल भएका थिए। तर, चोटका कारण राष्ट्रिय टोलीबाट बाहिरिएका छन्। उनको स्थानमा बर्नमाउथका डिन हुइसेनलाई टोलीमा समावेश गरिएको छ। हुइसेन यसअघि स्पेनको यु–२१ टोलीका सदस्य थिए।