काठमाडौं। अर्जेन्टिनी स्टार लिओनल मेसीले आसन्न दक्षिण अमेरिकी विश्वकप छनोट खेल गुमाउने भएका छन्। मांसपेशी चोटका कारण ३७ वर्षीय फरवार्डले उरुग्वे र ब्राजिलविरुद्धको खेल गुमाउने भएका हुन्।
अर्जेन्टिनाका मुख्य प्रशिक्षक लिओनल स्कालोनीले सोमबार घोषणा गरेको २५ सदस्यीय टोलीमा उनको नाम समावेश गरेका छैनन्।
अर्जेन्टिनी सञ्चारमाध्यमहरूका अनुसार मेसीलाई आइतबार इन्टर मियामीको एट्लान्टा युनाइटेडविरुद्धको २–१ को जितका क्रममा देब्रे थाईमा दुखाइ महसुस भएको थियो। तर, अर्जेन्टिनी फुटबल संघले उनको अनुपस्थितिको औपचारिक कारण खुलाएको छैन।
विश्वकप छनोटमा शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले शुक्रबार दोस्रो स्थानको उरुग्वेसँग खेल्नेछ। त्यसको चार दिनपछि मंगलबार अर्जेन्टिनाले ब्युनोस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा पाँचौं स्थानको ब्राजिलको सामना गर्नेछ।
अर्जेन्टिनाले १२ खेलबाट २५ अंक जोडेको छ। समान खेलबाट उरुग्वेको २० र ब्राजिलको १८ अंक छ। मेसी मात्रै होइन, अर्जेन्टिनाका अन्य महत्त्वपूर्ण खेलाडीहरू पनि यी दुई खेलका लागि अनुपस्थित हुनेछन्।
पाउलो डिबाला, गोन्जालो मोन्टिएल र जियोभानी लो सेल्सो चोटका कारण टोलीबाहिर छन्। मार्च २ मा घोषणा गरेको प्राम्भिक टोलीबाट एलेजान्ड्रो गार्नाचो र क्लाउडियो एचेभेरीलाई पनि प्रशिक्षक स्कालोनीले बाहिर राखेका छन्।
विश्वकप विजेता मेसीलाई यस सिजनको सुरुआतदेखि नै इन्टर मियामीले चोटको जोखिमका कारण केही खेलमा विश्राम दिएको थियो।
यो महिना मात्रै मेसीले ह्युस्टन डायनामो, काभालियर एससी र चार्लोट एफसीविरुद्धको खेल गुमाएका थिए। उनले काभालियर एससीविरुद्ध कन्काकाफ च्याम्पियन्स कपको अन्तिम १६ को दोस्रो लेगमा भने पुनरागमन गरेका थिए।
तर, प्रशिक्षक जाभियर माश्चरानोकाअनुसार मेसी आइतबार एट्लान्टाविरुद्धको खेलका लागि फिट थिए। उनले २०औं मिनेटमा गोल गरेका थिए, जुन समयमै उनलाई चोट लागेको बताइएको छ।