काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कपमा लगातार पाँचौ जित निकालेको छ।
सोमबार भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो। जितसँगै शीर्ष स्थानको पुलिसले पाँच खेलबाट १० अंक पुर्याएको छ।
सुदूरको भने यो चौथो हार हो। पुलिसले दिएको १६१ रन पछ्याएको सुदूरले २८.३ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन मात्रै बनाउन सक्यो।
सुदूरका शेर मल्लले सर्वाधिक ३२ रन बनाए। ३७ बल खेलेका उनले ६ चौका प्रहार गरे। मिलन बोहराले २३ र टेक रावतले १२ रन जोडे। बाँकीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
पुलिसका ललितनारायण राजवंशीले सर्वाधिक ६ विकेट लिए। सात ओभर बलिङ गरेका उनले १६ रन खर्चिए। सागर ढकालले दुई विकेट लिँदा करण केसीको नाममा एक विकेट रह्यो।
त्यसअघि पहिला ब्याटिङ गरेको पुलिसले ४७ ओभरमा सबै विकेट गुमाउँदै १६० रन बनायो।
पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रन बनाए। ४७ बल खेलेका उनले पाँच चौका प्रहार गरे। आरिफ शेख ४०, सागर ढकाल २२, दीलिप नाथ १९ र अमित श्रेष्ठ १८ रनमा आउट भए।
सुदूरका सौर्य श्रेष्ठले सर्वाधिक चार विकेट लिए। भोजराज भट्टको नाममा तीन विकेट लिए।