काठमाडौं । जापानको रिस्सो विश्वविद्यालय टोलीले मनकामना केबुलकार पोखरा कप खेल्ने भएको छ । आगामी मंगलबारबाट पोखरामा सुरु हुने प्रतियोगितामा जापानको टोलीले सहभागिता जनाउने पक्का भएको हो ।
झन्डै चार दशक पुरानो रिस्सो विश्वविद्यालय जापानको इस्ट युनिभर्सिटी लिगमा खेलिरहेको छ । गत वर्षमात्र टोलीले जे लिगमा खेल्ने खेलाडी उत्पादन गरेको थियो । टोली माघ २० गते काठमाडौं आइपुग्ने र सोही दिन पोखरा जाने कार्यतालिका रहेको छ ।
रिस्सो विश्वविधालय पहिलो पटक नेपाल आएर खेल्न लागेको हो । पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचन र फन रुट्स एकेडेमीको पहलमा रिस्सो विश्वविद्यालय नेपाल आउन लागेको हो ।
गौचन जापानको टोक्योमा अवस्थित फन रुट्स एकेडेमीका प्रशिक्षक हुन । उनका अनुसार फन रुट्सका मालिक जुन हिरानोले रिस्सोलाई नेपाललाई ठुलो सहयोग गरेको बताए । हिरानो पनि प्रतियोगिताका क्रममा २ दिनका लागि नेपाल आउने छन् ।
फनरुट्सले रिस्सो आउने सबै व्यवस्थापन गरेको गौचनले बताए । उनका अनुसार प्रतियोगिता जितेमा प्राप्त हुने पुरस्कार रकम रिस्सोले नेपालमा च्यारिटीका लागि प्रदान गर्नेछ ।
कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले जापानको टोली नेपाल आउने पक्का भएको बताए ।
उनले भने, ‘पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचन र फनरुट्स एकेडेमीको पहलमा जापनीज टोली नेपाल आउन लागेको हो । यो निकै सशक्त टोली हो र उपाधि नै जित्ने सम्भावना बोकेको टोली हो ।’
‘विश्वविधालय टोलीले विगतमा नेपालको राष्ट्रिय टोलीलाई जितेको कीर्तिमान छ । जापानमा राष्ट्रिय टोलीमा खेल्नुभन्दा पहिला विश्वविधालय टोलीबाट खेलेको हुनुपर्छ । रोस्सो विश्व विधालयले पोखराको दर्शकलाई फुटबलको पूर्ण मनोरञ्जन दिने पक्का छ । उनीहरूलाई सोही अनुसारको सत्कार गर्न हामी तयार छौ ।’ उनले थपे ।