काठमाडौं। तीव्र गतिका बलर जसप्रीत बुमराहले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा मुम्बई इन्डियन्सका सुरुका केही खेल गुमाउने सम्भावना बढेको छ।
उनी आफ्नो चोटबाट अझै निको भएका छैनन्। त्यसैले उनलाई जनवरीदेखि मैदानमा फर्कन दिइएको छैन। बुमराह अप्रिलको सुरुमा टोलीमा फर्किने बताइएको छ। तर, मुम्बईले मार्चमा नै तीन खेल खेल्नु पर्नेछ।
नेसनल क्रिकेट एकेडेमी (एनसिए) मेडिकल टोलीले फिट घोषित गरेपछि मात्र उनी मुम्बईमा समावेश हुन सक्नेछन्। जनवरी ४ मा सिड्नीमा भएको बोर्डर-गावस्कर ट्रफीको अन्तिम टेस्टको दोस्रो दिन बुमराहलाई ढाडको तल्लो भागको चोट बल्झिएको थियो।
त्यसपछि बुमराह यस महिनाको सुरुमा भारतले जितेको च्याम्पियन्स ट्रफीबाट बाहिरिए। मार्च २०२३ मा शल्यक्रिया गरिएपछि बुमराहलाई ढाडमा चोट लागेको यो पहिलो पटक हो।
जनवरीमा च्याम्पियन्स ट्रफीको लागि टोली घोषणा गर्दा भारतका मुख्ष छनोटकर्ता अजित आगरकरले बुमराहलाई बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले को मेडिकल टोलीले कम्तिमा पाँच हप्ता (एससिजी टेस्टबाट) आराम गर्न सल्लाह दिएको बताइएको थिए।
१९ फेब्रुअरीमा च्याम्पियन्स ट्रफी सुरु हुँदा बुमराहलाई भारतको प्रारम्भिक टोलीमा समावेश गरिएको थियो। उनी फेब्रुअरीको सुरुमा नयाँ स्क्यानका लागि बेंगलुरु गएका थिए। तर, उनलाई निरन्तर असहज महसुस भइरहेको थियो र अन्तिम टोलीमा सामेल हुन सकेनन्।
बुमराहले कति खेल गुमाउनेछन् र उनको पुनरागमनको लागि निश्चित मिति छ कि छैन भन्ने कुरा पुष्टि हुन सकेको छैन। मुम्बईका पहिलो दुई आइपिएल खेल अवे खेल्नेछ। मार्च २३ मा चेन्नईमा चेन्नई सुपर किंग्सविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ। मार्च २९ मा अहमदाबादमा गुजरात टाइटन्ससँग खेल्नेछन्।