काठमाडौं। कप्तान लिओनल मेसीले सिजनको पहिलो गोल गरेको खेलमा इन्टर मियामी विजयी भएको छ। मर्सिडिज–बेन्ज स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा मियामीले एट्लान्टा युनाइटेलाई २–१ ले पाखा लगाएको हो।
मेसीले गोल गर्दै खेल बराबरीमा ल्याए भने फाफा पिकाउल्टले अन्तिम क्षणमा गोल गर्दै टोलीलाई एट्लान्टा युनाइटेडविरुद्ध २–१ को जित दिलाएका हुन्। फाफाले ८९औं मिनेटमा मियामीका लागि विजयी गोल गरे। यो उनको दोस्रो खेलमा आएको पहिलो गोल थियो।
जोर्डी अल्बाको क्रसमा उनले गोल गरेका हुन्। यसअघि २०औं मिनेटमा मेसीले सिजनको पहिलो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। उनलाई पनि अल्बाले असिस्ट दिएका हुन्।
एट्लान्टाका ब्रूक्स लेनन खेलको ११औं मिनेटमा इमानुएल लाटे लाथलाई उत्कृष्ट क्रस पास दिए। जसलाई लाथले हेडरमार्फत गोलमा परिणत गरे। यो उनको चौथो करियर स्टार्टमा आएको तेस्रो गोल थियो। योसँगै एट्लान्टाको १९५ मिनेट लामो गोल खडेरी समाप्त भएको छ।
ब्रूक्सले यो खेलमार्फत एट्लान्टाका लागि ३९ असिस्टको कीर्तिमान बराबरी गरे। यो कीर्तिमान यसअघि जुलियन ग्रेसलको नाममा थियो।
गत सिजन मियामीविरुद्धको प्लेअफ खेलमा उनी घाइते भएका थिए। एट्लान्टाले मियामीलाई सो प्लेअफको निर्णायक खेलमा ३–२ ले हराएको थियो।