काठमाडौं। नेट सिभर ब्रन्टको अलराउन्ड प्रदर्शनसँगै मुम्बई इन्डियन्सले वुमेन्स प्रिमियर लिगको उपाधि जितेको छ।
मुम्बईले फाइनलमा दिल्ली क्यापिटल्सलाई आठ रनले पराजित गरेको हो। प्रतियोगिताको तेस्रो संस्करणको उपाधि खेल शनिबार ब्राबोर्न रंगशालामा खेलाइएको थियो। यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन बनाएको थियो।
जवाफमा दिल्लीले निर्धारित ओभरमा नौ विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो। मुम्बईको यो दोस्रो उपाधि हो। यसअघि हरमनप्रीत कौरको टोलीले पहिलो संस्करणको फाइनलमा दिल्लीलाई हराउँदै उपाधि जितेको थियो। दिल्ली भने लगातार तेस्रो सिजन उपविजेतामा सीमित भयो।
१५० रनको लक्ष्य पछ्याउन दिल्ली मैदानमा आयो। तर, ब्याटरबाट साथ पाएन। दिल्लीका लागि मारिजेन क्यापले सर्वाधिक ४० रनको इनिङ्स खेलिन्। उनीबाहेक जेमिमा रोड्रिग्सले ३० रन बनाइन्।
निक्की प्रसाद २५ र श्री चरणी तीन रनमा अविजित रहे। मुम्बईका नेट सिभर ब्रन्टले तीन विकेट लिइन् भने अमेलिया करले दुई विकेट लिइन्।
त्यसअघि ब्याटिङ गरेको मुम्बईका ब्याटरको प्रदर्शन पनि निराशाजनक रह्यो। नताली सिभर ब्रन्ट र हरमनप्रीत कौरबाहेक कुनै पनि खेलाडीले दिल्लीका घातक बलरको सामना गर्न सकेनन्।
ब्रन्ट र कप्तान कौरले ६२ बलमा ८९ रनको साझेदारी गरेका थिए। श्री चरणीले इङ्ग्ल्यान्डका अलराउन्डरलाई मिनु मनीको हातबाट क्याच गराए। उनी ३० रन बनाएर आउट भइन्। त्यसै क्रममा भारतीय ब्याट्सम्यानले ४४ बलमा ६६ रन बनाए।
दिल्लीका मारिज्न क्याप, जेस जोनासन र श्री चरणीले समान दुई विकेट लिए भने अन्नाबेल सदरल्यान्डको नाममा एक विकेट रह्यो।