काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा युएईले दिएको २५५ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ । नेपालले रोहित कुमार पौडेललाई १६ रनमा गुमाएको हो ।
यसअघि टस हारेर ब्याटिङ गरेको युएईले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २५४ रन बनाएको थियो । खराब सुरुवात गरेको युएईका मध्येक्रमका ब्याट्सम्यानले सम्हालिएको खेल प्रदर्शन गर्दा युएईले फराकिलो स्कोर बनाएको हो ।
पावर प्लेमा मात्र १४ रन जोड्न सफल युएईले २ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, शाइमन अनवार र सिपी रिजवानले पाँचौ विकेटका लागि १०० रनको साझेदारी गर्दै गर्दै युएईको स्कोर फराकिलो बनाएका थिए । अर्धशतकीय इनिङस खेलेका अनवार ८७ रनमा आउट भए । रिजवानले ४५ रन जोडेर आउट भए ।
नेपाललाई फराकिलो लक्ष्य दिने क्रममा युएईले अन्तिम २ ओभरमा ४३ रन जोडेको थियो । उसका लागि आक्रामक ब्याटिङ गर्दै मोहमद बुटाले पनि ५९ रनको अर्धशतकीय इनिङस खेले । त्यस्तै युएईका मोहमद उसमान २६ तथा गुलाम सब्बीर १८ रनमा आउट भए ।
कप्तान मोहमद नाभिद ११ रनमा अविजित रहे । नेपालका कप्तान पारस खड्का र करण केसीले २/२ विकेट लिए ।
आजको खेल नेपालका लागि निकै महत्वपुर्ण रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाल जित निकाल्दै ऐतिहासिक सफलता पाउने योजनामा छ ।