काठमाडौं। मधेश प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको हो।
शनिबार सम्पन्न खेलमा पुलिस १९३ रनले विजयी भएको हो। योसँगै चार खेलबाट आठ अंक पुर्याएको पुलिस शीर्ष स्थानमा उक्लिएको छ। पुलिसले लुम्बिनीलाई ८७ रन, कोशीलाई १५४ रन र एपिउफलाई दुई विकेटले हराएको थियो।
मधेशको भने यो लगातार दोस्रो हार हो। कोशीलाई १६५ रनले हराएको मधेश एपिएफसँग दुई विकेटले पराजित भएको थियो।
पुलिसले दिएको २८९ रनको लक्ष्य पछ्याएको मधेशले २६.१ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनायो। मधेशका दीपेश दासले सर्वाधिक ३१ रन बनाए। ५९ बल खेलेका उनले दुई चौका र एक छक्का प्रहार गरे।
रुपेश सिंश १६ र विशाल पटेल १३ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। पुलिसका ललितनारायण राजवंशीले सर्वाधिक पाँच विकेट लिए। ९.१ ओभर बलिङ गरेका उनले दुई मेडनसहित २८ रन खर्चिए।
कुशल भुर्तेलले दुई विकेट लिँदा करण केसी, सागर ढकाल र दीपेन्द्रसिंह ऐरीको नाममा समान एक विकेट लिए।
त्यसअघि ब्याटिङ थालेको पुलिसले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २८८ रन बनाएको थियो। पुलिसका कप्तान दीपेन्द्रले सर्वाधिक ६३ रन बनाए। ३६ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे।
आरिफ शेख ५५, अर्जुन साउद ४७, दीलिप नाथ ४५, शंकर राना २७ र राशिद खान १४ रनमा आउट भए।
मधेशका रुपेश सिंहले सर्वाधिक चार विकेठ्ठ लिए। विशाल पटेलल तीन तथा कमल गुप्ताले दुई विकेट लिँदा रञ्जित कुमारको नाममा एक विकेट रह्यो।