काठमाडौं। मुख्य प्रशिक्षक थोमस टुचेलले जोर्डन हेन्डरसन र मार्कस रासफोर्डलाई इङ्ल्यान्डको टोलीमा स्वागत गरेका छन्।
टुचेलले वेम्बली स्टेडियममा हुने अल्बानिया र लाट्भियाविरुद्धको विश्वकप छनोट खेलअघि आफ्नो पहिलो टोलीमा यी दुई खेलाडीलाई समावेश गरेका हुन्।
हेन्डरसन र रासफोर्ड दुवैलाई पूर्वप्रशिक्षक गेरेथ साउथगेटले गत वर्षको युरोपियन च्याम्पियनसिपमा टोलीमा समावेश गरेका थिएनन्। योसँगै यी दुई खेलाडीको अन्तर्राष्ट्रिय करिअर अन्योलमा परेको थियो।
तर, संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा सन् २०२६ को विश्वकपका लागि यी दुई खेलाडी टोलीमा मुख्य दावेदार मानिएका छन्। ‘जोर्डन लगातार उपाधि जित्ने खेलाडी हुन्,’ टुचेलले अयाक्सका मिडफिल्डर हेन्डरसनको बारेमा भने, ‘उनले टिमलाई नेतृत्व र ऊर्जा प्रदान गर्छन्।’
३४ वर्षीय हेन्डरसनले लिभरपुललाई सन् २०१९ मा च्याम्पियन्स लिग र २०२० मा प्रिमियर लिग जित्न मद्दत गरे। सन् २०२३ मा उनी साउदी क्लब अल–इत्तिफाकमा गएका थिए। तर, त्यहाँ ६ महिना मात्रै टिके र अन्ततः अयाक्स फर्किए। उनको उद्देश्य युरोपियन फुटबल खेलिरहने र इङ्दल्यान्डको टोलीमा आफ्नो स्थान सुरक्षित गर्ने थियो।
‘जोर्डनमा हामीलाई चाहिने सबै गुण छ। उनले हाम्रो टिमको आदर्श प्रतिनिधित्व गर्छन्,’ टुचेलले वेम्बलीको पत्रकार सम्मेलनमा भने।
टुचेल रासफोर्डको हालको प्रदर्शनबाट पनि निकै प्रभावित देखिए। २७ वर्षीय फरवार्डले म्यानचेस्टर युनाइटेडमा अवसर पाएनन्। त्यसैले ऋणमा उनी एस्टन भिल्ला गएका थिए। भिल्लामा उनले उत्कृष्ट प्रदर्शन गरेका छन्।
‘मार्कसको प्रभाव एस्टन भिल्लामा ठूलो छ। उनको शारीरिक प्रभाव प्रभावशाली थियो। तर, सबैभन्दा महत्त्वपूर्ण कुरा उनले बलबिना पनि टिमलाई मद्दत पुर्याएका छन्। उनको वर्करेट, डिफेन्सिभ योगदान, काउन्टर–प्रेसिङ र ट्र्याकिङ ब्याक गर्ने शैली निकै प्रभावशाली छ,’ टुचेलले भने।
भिल्लाले बुधबार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिग क्वार्टरफाइनलमा स्थान बनाएको थियो। ‘हामीले उनलाई टोलीमा बोलाउनुपर्छ भन्ने महसुस गर्यौं,’ टुचेलले भने,‘हामी उनलाई उच्च स्तरमा राख्न चाहन्छौं, पुराना बानीमा फर्किनबाट रोक्न चाहन्छौं। यो क्याम्पमा हामी उनलाई राम्रोसँग बुझ्नेछौं र उनलाई यही स्तरमा निरन्तरता दिन उत्प्रेरित गर्नेछौं।’
रासफोर्ड यो सिजनको जनवरी स्थानान्तरण विन्डो बन्द हुनुभन्दा अघिल्लो दिन भिल्लामा अनुबन्ध भएका थिए। युनाइटेडका प्रशिक्षक रुबेन अमोरिमले रासफोर्डको प्रदर्शनप्रति प्रश्न उठाएका थिए।
इङ्ल्यान्डले आउँदो शुक्रबार अल्बानियालाई तथा तीन दिनपछि लाट्भियालाई वेम्बली स्टेडियममा सामना गर्नेछ। टुचेलले सन् २०२१ मा चेल्सीलाई च्याम्पियन्स लिग जिताएका थिए। इङ्ल्यान्डलाई उपाधि जिताउने लक्ष्यसहित उनी नियुक्त भएका छन्। इङ्ल्यान्डको एक मात्र विश्वकप सन् १९६६ मा जितेको थियो। साउथगेटको नेतृत्वमा इङ्ल्यान्डले सन् २०१८ को विश्वकपमा सेमिफाइनल र युरो २०२० फाइनलसम्म पुगेको थियो।