काठमाडौं। ब्राजिलले यस महिनाको विश्वकप छनोटका लागि किशोर फरवार्ड एन्ड्रिकलाई नेयमारको स्थानमा टोलीमा समावेश गरेको छ। सान्तोसका आक्रमणकारी फरवार्ड नेयमार मांसपेशी चोटका कारण टिमबाट बाहिरिएका छन्।
नेयमारले अक्टोबर २०२३ मा उरुग्वेविरुद्ध घुँडाको चोट बोकेपछि १७ महिनापछि पहिलो पटक ब्राजिलको लागि खेल्न पाउने अपेक्षा गरिएको थियो। तर, ३३ वर्षीय खेलाडीले पुनः चोटको समस्या भोग्नुपरेपछि कोलम्बिया र अर्जेन्टिनाविरुद्धको छनोट खेलबाट बाहिरिनुपरेको छ।
‘फर्कने समय निकै नजिकजस्तो लागेको थियो। तर, दुर्भाग्यवश अहिलेका लागि संसारकै सबैभन्दा महत्त्वपूर्ण जर्सी लगाउन सक्दिन,’ नेयमारले इन्स्टाग्राममा लेखेका छन्,
‘हामीले लामो छलफल गर्यौं, सबैलाई मेरो फर्कने इच्छाको थाहा छ। तर, कुनै पनि जोखिम नलिई पूर्ण रूपमा चोट निको पार्ने तयारी गर्नु नै उचित हुन्छ भन्ने सहमति भएको छ।’
साउदी प्रो लिग क्लब अल–हिलालसँग कठिन समय बिताएपछि नेयमार जनवरीमा आफ्नो बाल्यकालीन क्लब सान्तोस फर्किएका थिए। उनले ब्राजिली लिगमा सात खेल खेल्दै तीन गोल र तीन असिस्ट गरेका छन्।
ब्राजिलका लागि सबैभन्दा धेरै खेल्ने खेलाडी काफु (१४२) हुन् भने नेयमार (१२८) दोस्रो स्थानमा छन्। उनी ७९ गोलसहित ब्राजिलका सर्वाधिक गोलकर्ता हुन्, पेलेभन्दा दुई गोल बढी।
ब्राजिलका मुख्य प्रशिक्षक डोरिभाल जुनियरले म्यानचेस्टर सिटीका एडर्सनको सट्टा लियोनका गोलकिपर लुकास पेरीलाई तथा फ्लामेङ्गोका डिफेन्डर एलेक्स सान्ड्रोलाई ड्यानिलोको स्थानमा बोलाएका छन्।
१८ वर्षीय एन्ड्रिकले यो सिजन सबै प्रतियोगितामा मिलाएर रियल मड्रिडको जर्सीमा २८ खेल खेल्दै ६ गोल गरेका छन्। उनले ब्राजिलका लागि १३ सिनियर खेल खेल्दै तीन गोल गरिसकेका छन्।